रामपुर न्यायिक समितिसंग प्रहरी साझेदारी कार्यक्रम

पाल्पा । रामपुरमा न्यायिक समितिसंग प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत रामपुर नगरपालिकाको न्यायिक समितिको आयोजनामा वडा नं.४ देविस्थानमा साझेदारी कार्यक्रम भएको हो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सभ्य र सुसंस्कृत नगर निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय हरेक व्यक्तिमा नकारात्मक सोच हावि भएका कारण हिंसा संगै विभिन्न नकारात्मक घटना बढ्दै गएकोले यसको निराकरणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मानिसमा नैतिक ज्ञानको अभावका कारण अपराधिक क्रियाकलाप जोडिने भएकोले समाजमा रहेका विकृति विसंगती हटाई शान्त र हिंसा रहित समाज निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको नगर प्रमु्ख थापाको भनाइ थियो ।

रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक बाल कुमारी थापाले विवाद र अपराध दुवैले समाजिक मेलमिलापलाई असर पार्ने बताउनुभयो । उहाँले न्यायिक र शान्त समाज निर्माणका लागि विवाद ,अपराध र हिंसाको अन्त्य हुनु पर्ने भन्दै विवाद, अपराध र हिंसालाई कानुनी उपचारको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा हुने विभिन्न हिंसा र अपराधलाई नलुकाउन आग्रह गर्दै विभिन्न विवादको न्यायोचित रुपमा समाधानका लागि न्यायिक समिति प्रतिबद्ध रहेको उपप्रमुख थापाले बताउनुभयो ।
यसैगरी रामपुर नगरपालिका वडा नं.४ का वडाध्यक्ष रामबहादुर रानाले विभिन्न हिंसा र अपराध नियन्त्रणका लागि सबै लाग्नु पर्ने बताउनुभयो । उहाँले हिंसा र अपराध रहित समाज निर्माणका लागि सबैले दायित्व बोध गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राम बहादुर नेपालीले जुनसुकै अपराध र हिंसालाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विभिन्न अपराध, लागुऔषध, सडक सुरक्षा, साईबर क्राईम, यसको कानुनी उपचार, विभिन्न हिंसा र यसको अवस्था, न्यायिक समितिको काम कर्तव्य र अधिकारलगायतका विषयमा सहजीकरण प्रहरी निरीक्षक नेपाली, रामपुर नगरपालिकाका न्यायिक समिति सचिवालय सचिव पार्वती परियार र सञ्जु परियारले गर्नु भएको न्यायिक समिति सदस्य खेमराज अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर