आत्महत्या न्यूनीकरण अभियानका  लागि त्रिपक्षीय सम्झौता

पाल्पा । बढ्दो आत्महत्या न्यूनीकरणका लागि तानसेन ७ मा अभियान सञ्चालन गर्ने गरी त्रिपक्षीय सम्झौता भएको छ ।

प्रहरी चौकी प्रभासको सक्रियतामा सञ्चालन हुने अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि तानसेन नगरपालिका वडा नं. ७, लुम्बिनी मेडिकल कलेज बिच त्रिपक्षीय सम्झौता भएको प्रहरी सहायक निरीक्षक मोहन खड्काले जानकारी दिनुभयो । उहाँले अभियानमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट देश भर अभियान चलाउन तयार पारिएको आत्महत्या न्यूनीकरण विषय समेटिएको जनचेतनामूलक प्रशिक्षण सामाग्रीबाट समुदाय तथा विद्यालयका शिक्षक, विद्यार्थीहरुमा सचेतना फैलाउने कार्यक्रम गरिने बताउनुभयो ।

अभियानमा वडा भित्र आत्महत्या प्रयासबाट प्रभावित मानिस तथा सम्भावित क्षेत्रहरुको सूचना संकलन, प्रशिक्षण र प्रभावित मानिसहरुलाई मनोपरामर्श सेवा उपलब्ध गराइने तानसेन नगरपालिका वडा नं. ७ का वडाध्यक्ष प्रदीप खनालले बताउनुभयो । उहाँले आत्महत्या न्यूनीकरण अभियानलाई सफल बनाउन लुम्बिनी मेडिकल कलेजबाट समेत आवश्यक सहयोग एवम् समन्वय गरेर काम गर्नेगरी समझदारी भएको बताउनुभयो ।

पछिल्लो समय आत्महत्याका घटना बढ्दो क्रममा रहेको र यो व्यक्तिको मानसिक स्वास्थ्यसँग जोडिएको विषय भएकोले सामाजिक उत्तरदायित्व अन्तरगत कलेजले अभियनामा साझेदारी गर्न लागेको लुम्बिनी मेडिकल कलेज प्रभासकी मेट्रोन शिखा पहारीले बताउनुभयो । उहाँले आत्महत्याले व्यक्तिको जीवन मात्र समाप्त गर्ने नभई परिवार, समाजका साथसाथै राष्ट्रलाई नै बहुआयामिक तरिकाले असफल बनाउने हुदा आत्महत्याका कारण हुने मानवीय क्षतीलाई न्यूनीकरण गर्न सबै पक्षको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । जिल्लामा गएको तीन वर्षको आँकडा हेर्दा आत्महत्याको दर बढ्दो रहेको छ ।

सम्बन्धित खवर