तिनाउको झ्याङ्लामा न्वागी पर्व तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

पाल्पा । तिनाउ गाउँपालिका २ झ्याङ्ला गाउँमा रहेको खाँडदेवी मन्दिरमा पूजाआजा गरी न्वागी पर्व तथा सांस्कृतिक कार्यक्रम सोमवार साँझ सम्पन्न भएको छ ।

कार्यक्रममा संघीय सांसद ठाकुरप्रसाद गैरेले झ्याङ्ला गाउँको सांस्कृतिक पर्वको रुपमा रहेको न्वागी र सांस्कृतिक कार्यक्रमले यहाँका बासिन्दाको सांस्कृतिक महत्व बढ्दै गएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले यस क्षेत्रको पर्यटन विकासमा सघाउ गर्ने बताउर्दै सांसद गैरेले बञ्चरे पहाडमा पहिरोको कारण देखिएको समस्या समाधान र थानिडाँडा माध्यमिक विद्यालयको शैक्षिक एवम् भौतिक पूर्वाधार विकासका लागि आफूले सक्दो पहल गर्दै आएको जानकारी गराउनुभयो ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनुभएका गैरेले तिनाउ गाउँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवम् पर्यटकीय गन्तव्यको पहिचान गरी आन्तरिक एवम् बाह्य पर्यटकलाई तिनाउमा भित्राएर आर्थिक समृद्धिको बाटो फराकिलो बनाउन आफ्नो पहल निरन्तर रहने बताउनुभयो ।

कार्यक्रममा तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउको गरिमाको रुपमा रहेको न्वागी पर्व र सांस्कृतिक कार्यक्रमले नयाँ जागरण ल्याएको बताउनुभयो । यस क्षेत्रको विकासका लागि माग र आवश्इकता अनुसार गाउँपालिकाले सहयोग उपलब्ध गराउर्दै आएको उहाँको भनाइ थियो ।

कार्यक्रमका लुम्बिनी प्रदेश मुख्यमन्त्रीका शिक्षाविज्ञ दलबहादुर गुरुङले तिनाउको मुख्यपर्वकै रुपमा झ्याङ्लाको न्वागी पर्वलाई प्रचारप्रसार गरी सांस्कृतिक पर्यटनमा जोड दिएर आर्थिक उपार्जनको बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तिनाउ गाउँपालिका प्रवक्ता यादव अर्याल, पूर्ववडाध्यक्ष राजेश श्रेष्ठ, थानिडाँडा माध्यमिक विद्यालयका प्रद्यानाध्यापक ईमानसिह थापा, समाजसेवी रुद्र जीसी, संगीता विक, कुलबहादुर घर्तिमगरले न्वागी पर्वलाई निरन्तर सञ्चालन गर्नका लागि सबैले सहयोग हुनुपर्ने बताउनुभएको थियो ।

सम्बन्धित खवर