सत्यवतीको मेलामा ३२ लाख बढी आम्दानी

पाल्पा । तिनाउ –४ को सत्यवती तालको धार्मिक मेलामा ३२ लाख ८१ हजार ८ सय ७० रुपैयाँ संकलन भएको छ ।

कार्तिक २७ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको मेलामा भेटी र सहयोग वापत उक्त रकम संकलन भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले यससंगै करिब १५ लाल सुनसमेत संकलन भएको बताउनुभयो । आर्थिक पारदर्शिताका लागि मेला सकिएको दुई दिनमै गाउँपालिका, प्रहरी, प्रशासन, समिति, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुको उपस्थितिमा आम्दानीको हिसाव गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सत्यवती ताल तिनाउ गाउँपालिकाको एउटा महत्वपूर्ण धार्मिक पर्यटकीय महत्व रहेको स्थल भएकोले यसको विकास, संरक्षण र नियमनमा गाउँपालिकाले विशेष ध्यान दिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले ताल र मन्दिरको संरक्षण र विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग उपलब्ध गराउदै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिँर्दै व्यवस्थित रुपमा मन्दिर सञ्चालनको वातावरण तयार गर्ने बताउनुभयो । विगतका वर्षमा सञ्चालन भएको मेलामा आर्थिक विषयमा गाउँपालिकामा प्राप्त गुनासोका आधारमा पछिल्लो गाउँपालिकाको नेतृत्वले कार्यपालिकाको बैठकबाट निर्णय गरेर आम्दानी खर्चको हिसाव गाउँपालिकाको प्रत्यक्ष सहभागितामा समयमै गर्दै आएको छ ।

मेलाको आम्दानीको हिसाब भएपनि खर्च विवरण संकलन भैरहेकोले आम्दानी र खर्चको हिसाव किताव गरेर १० दिन भित्र समीक्षा बैठक गरिने सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो । उहाँले मेला सन्तोषजनक रहेको बताउदै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो । यो वर्ष कात्र्तिक महिनामा बाला चतुर्दशी र पूर्णिमा परेकोले सत्यवती बज्यैको दर्शन गर्ने जोग परेको थियो । जसका कारण सत्यवती तालमा दर्शनार्थीको घुइचो लागेको थियो । अनुमान गरिए भन्दा बढी दर्शनार्थीहरु मन्दिरमा पुगेकोले आम्दानी बढेको समितिले जनाएको छ । सत्यवती तालमा पुगेपछि बाँसको लिंगो गाडने र राती पूजा गर्दा त्यही लिंगो चिनेर पूजा गरी चिच्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ । यो वर्ष जोग परेकोले करिब तीन लाख भक्तजन तालमा पुगेको आयोजकको दावी गरेको छ ।

तानसेन र वुटवल क्षेत्रबाट आउने भक्तजनहरु सिद्धार्थ राजमार्गको २४ माइल र झुम्सा पानी मिलबाट पैदल दुई घण्टाको उकालो हिडेपछि सत्यवती ताल पुग्न सकिन्छ । सवारीसाधनको प्रयोग गरेर पनि सहज रुपमा तालसम्म पुग्न सकिन्छ । यहाँ मेला भर्न रुपन्देही, स्याङ्गजा गुल्मी, अर्घाखाची, नवलपरासी, कपिलवस्तु, दाङ्ग कास्की, काठमाण्डौलगायत छिमेकी देश भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट दर्शनार्थी आउने गर्दछन् । मेलाबाट भएको आम्दानीले गाउँपालिकाको सहकार्यमा तयार गरिएको मन्दिरको गुरु योजना अनुसार मन्दिरको पूर्वाधार निर्मणको काम सुरु गरिने सत्यवती मन्दिर ताल संरक्षण विकास समितिले जनाएको छ ।

सम्बन्धित खवर