पूर्वखोलाले पायो भिडियो एक्सरे मेसिन

तानसेन । पूर्वखोला गाउँपालिका कार्यालय पाल्पालाई स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा टेकु काठमाडौंले भिडियो एक्सरे मेसिन उपलब्ध गराएको छ ।

प्रत्यक वडातहमा पुगेर भिडियो एक्सरे सेवा उपलब्ध गराउन सहज हुनेगरी पोर्टेवल युएसजी मेसिन (आईप्याड) महाशाखाले उपलब्ध गराएको हो ।

पूर्वखोला निवासी नेपाली हेल्थका प्रधान सम्पादक रामप्रसाद न्यौपानेको सहजीकरणमा प्राप्त मेसिन विभागका आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकाललाई हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिकाले पोर्टेवल युएसजी मेसिन प्राप्त गरेपछि गाउँपालिकामा दुईवटा भिडियो एक्सरे मेसिन भएको छ । दुई जना तालिम प्राप्त स्वस्थ्यकर्मी रहेकोले सेवा प्रवाहमा थप सहजता हुने स्वास्थ्य शाखा प्रमुख ढकालले बताउनुभयो । नियमित रुपमा बिरकोट र रिङनेरह स्वास्थ्य चौकीबाट सेवा उपलब्ध हुने र मासिक रुपमा एक÷एक दिन सबै वडामा पुगेर गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्ने काम थप प्रभावकारी रुपमा सञ्चालन गरिने प्रमुख ढकालको भनाइ छ ।

गाउँपालिकालाई मेसिन उपलब्ध गराई शून्य अवस्थामा रहेको मातृ मृत्यु दरलाई निरन्तरता दिन सहयोगी भूमिका खेलेकोमा गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले अभार तथा धन्यवाद व्यक्त गर्नुभयो । भिडियो एक्सरे सेवा वडा तहमै गर्भवती महिलाले प्राप्त गर्दा आमा र बच्चाको नियमित स्वास्थ्य परीक्षण हुने, सम्भाव्य स्वास्थ्य जटिलताका विषयमा जानकारी भएर उपचार गर्न सकिने साथै गर्भ परीक्षणका लागि बढी मूल्य तिरेर अन्यन्त्र जानुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष थापाले बताउनुभयो ।

सम्बन्धित खवर