तानसेन । पाल्पा सदरमुकाम तानसेनमा शुक्रबार र शनिबार हुने ‘सम्पदा यात्रा २०८१ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।
पाल्पा साईक्लिङ्ग संघको आयोजनामा हुन लागेको ‘हेरिटेज राइड–२०८१’ को तयारी पूरा भएको पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । जिल्लामा रहेका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यलेलसाइकल यात्रा गर्न लागिएको संघका अध्यक्ष रुपेश महर्जनले जानकारी दिनुभयो । ‘स्वास्थ्य र पर्यटनको लागि साइकल चलाउने’ भन्ने मूल नाराका साथ हुन लागेको कार्यक्रममा १४ वर्ष देखि ६५ वर्ष सम्मका विभिन्न जिल्लाका एक सय ५० बढी साइकल यात्रीको सहभागिता रहने उहाँको भनाइ छ ।
यात्राको शुभारम्भ भोली शुक्रबार विहान साढे छ बजे तानसेन टुंडिखेलबाट लुम्बिनी प्रदेश सरकारका उद्योग तथा पर्यटन विकास मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गर्नुहुने छ । त्यसपछि टोली पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरु पाल्पा दरबार संग्रहालय, भैरवस्थान मन्दिर, लिस्ने भिरलगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्र, अर्गेली दरबार, रुरु ऋषिकेश मन्दिर, रिडीमा पुगेर बास बस्ने र शनिबार रानीमहल, देवदत्तपार्क, कालीगण्डकी करिडोर हुँर्दै गोर्खेकोटलगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरी तानसेन आएर यात्रको समापन गरिन अध्यक्ष महर्जनको भनाइ छ ।
तानसेन नगरपालिका –६ का वडाध्यक्ष सागरमान महर्जनले संघले आयोजना गर्न लागेको कार्यक्रमले स्वास्थ्यलाई मात्र नभई पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ‘साइकल यात्राले साहासिक खेलको विकास मात्र गर्दैन यसले यहाँको पर्यटकीय स्थलहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउन समेत ठूलो मद्दत गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले संघले आयोजना गर्न लागेको सम्पदा यात्राले एतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरुको विकासमा मद्दत पुग्ने बताउनुभयो । उहाँले यात्राले स्थानीय सरकारहरुलाई पनि सम्पदा संरक्षण र प्रचारप्रसारमा ध्यान केन्द्रीत गर्न यात्रा सफल हुने विश्वस व्यक्त गर्नुभयो ।
यात्रामा सहभागी यात्रीहरुलाई कला संस्कृतिका विषयमा जानकारी गराउनका लागि स्थानीय तह अनुसारा फरक फरक सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्ने तयारी रहेको संघका उपाध्यक्ष अमन शाक्यले बताउनुभयो । कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन स्थानीय तहसंग समन्वय र सहयोग लिइएको उहाँको भनाइ छ ।