पाल्पा । जेसीज पाल्पाले कार्तिक २३ गते शुक्रबारका दिन आयोजना गर्न लागेको “युवाको प्रश्न नेतृत्वसंग” खुल्ला बहस कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
पछिल्लो समय युवाहरु विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लाका पाँच स्थानीय तहले गरेका युवा लक्षित कार्यक्रम र त्यसको प्रभावकारीताका साथै भावी योजनाका विषयमा केन्द्रीत हुने बहसमा पाल्पा निर्वाचन क्षेत्र नं. २ का स्थानीय तहका प्रमुखहरुको सहभागिता रहने जेसीज पाल्पाका अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।
कार्यक्रम बारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले शासन व्यक्तिको होइन, विधिको हुनु पर्दछ’ भन्ने मूल नाराका साथ क्रियाशील जेसीजले स्थानीय तह र युवा बिच विकास गतिविधिका बारेमा प्रत्यक्ष साक्षात्कार गराउने, युवा र जनप्रतिनिधि बिच दुरी कम गराउनुका साथै जनप्रतिधिहरुलाई युवा लक्षित कार्यक्रम तर्जुमा र कार्यान्वयनमा दवाब सिर्जना गराई युवामैत्री कार्यक्रम संचालनको वातावरण निर्माण गराउने उद्देश्य कार्यक्रमको रहेको जानकारी गराउनुभयो ।
बहस कार्यक्रममा तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र तिनाउ गाउँपालिकाका प्रमुख तथा अध्यक्षसंग सहभागीहरुले सुवाल जवाफ गर्न सक्नेछन् । अघिल्ला दुई आर्थिक वर्ष (०७९।०८० र ०८०।०८१) मा भएका युवा लक्षित कार्यक्रमको अवस्था त्यसले पारेको प्रभाव (स्वरोजगार, उद्यमी) र विदेश बाट फर्किएका युवाहरुको व्यवस्थापन र विदेशिन बाध्य युवाहरुलाई स्वदेश मै बस्ने वातावरण निर्माणमा पालिकाहरुले थालेको प्रयास र भावी योजना सार्वजनिक गर्ने साथै सहभागीले जिज्ञासा राख्ने र प्रमुखहरुको प्रतिबद्धता लिइने अध्यक्ष कार्कीको भनाइ छ ।
तानसेनको पाल्पा दरबार संग्रहालय परिसरमा हुने बहस कार्यक्रम रचनात्मक भएको नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले बताउनुभयो । उहाँले स्थानीय तहलाई जिम्मेवार बनाउन युवा दवाब बढाउन बहस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।