बसपार्क निर्माण कार्य छिटो सक्न सांसद गैरेको निर्देशन

पाल्पा । तानसेन नगरपालिकाले वनदेवीमा निर्माण गरिरहेको नयाँ बसपार्कको काम छिटो सक्न पाल्पा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद ठाकुरप्रसाद गैरे निर्देशन दिनुभएको छ । उहाँले बसपार्कको निर्माण कार्यमा भएको ढिलाइ प्रति चासो दिएर बसपार्क निर्माणाधीन स्थलमै पुगेर नगर प्रमुख सन्तोषलाल श्रेष्ठसहित इन्जिनियर र निर्माण व्यवसायीलाई काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको हो । तानसेनको ५ नं. वडामा बन्न लागेको बसपार्क ठेक्का सम्झौता अनुसार २०८१ सालको पौष ६ गतेसम्ममा सम्पन्न हुनुपर्ने भएपनि निर्माणको काम कछुवा गतिमा भएको र आमनागरिकले गरेको गुनासोका आधारमा निर्माण कार्यको प्रगति बुझ्न स्थलगत निरीक्षण गरिएको सांसद गैरेको भनाइ छि ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति समेत रहनुभएका गैरेले तानसेनमा सुविधा सम्पन्न बसपार्क नहुँदा धेरैले दुख पाएको र पर्यटकीय नगरीको सुन्दरतामा समेत जथाभावी गाडी पार्किङ गर्दा नकारात्मक असर परेको अवस्थामा निर्माण भैरहेको बसर्पाक निर्माणको काम समयमै सक्न नगरपालिका जिम्मेवारपूर्वक लाग्नुपर्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायीलाई आवश्यक सहजीकरण गरेर निर्माण कार्य सम्पन्न गर्न तर्फ नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नगर प्रमुख श्रेष्ठले जतिसक्दो छिटो बसपार्क निर्माणको काम सम्पन्न गर्नका लागि नगरपालिका लागि परेको बताउनुभयो । भौगोलिक अवस्थाका कारण केही प्राविधिक अप्ठारोले डिजाइन परिमार्जन गर्नुपरेकोले केही समय ढिला भएपनि काम चाडै नै सक्नेगरी निर्माण व्यवसायीलाई सहजीकरण गरिएको बताउनुभयो । तानसेनमा २०३२ सालमा निर्माण भएको बसपार्क साँघुरो भएका कारण हाल सवारीसाधन पार्किङ गर्न समस्या छ । पुरानो बसपार्कमा सवारीसाधन पार्किङ गर्न समस्या भएपछि तानसेनको टुँडिखेल, हुलाकचोक, नारायणस्थान, विशालबजारका साथै सडकको छेउछाउमा सवारीसाधन पार्किङ स्थल बनाउदा समस्या हुँर्दै आएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नगर विकास कोषको ७० प्रतिशत ऋण सहयोग र नगरपालिकाको ३० प्रतिशत आफ्नै स्रोतमा नयाँ बसपार्क निर्माणको काम सुरु गरिको हो । जसका लागि १८ करोड ३२ लाखमा ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार ठेक्का सम्पन्न हुन २ महिना बाँकी रहदा करिब २५ प्रतिशत मात्र काम भएको नगरपालिकाले जनाएको छ । २२ महिनाभित्र नयाँ बसपार्क निर्माणको काम सक्ने गरी २०८० वैशाख ७ गते स्वयम्भू–रेडअर्थ–हमाल जेभी मकवानपुरसँग सम्झौता भएर काम सुरु भएपनि पटक पटक डिजाइन परिमार्जन गर्नुपरेकाले काम समयमै गर्न नसकिएको निर्माण कम्पनीका प्रतिनिधिको भनाइ छ ।

सम्झौता अनुसार निर्माण व्यवसायीले आफैले वालको डिजाइनगरी नगरपालिकामा पेश गरेर स्वीकृत भएपछि काम गनुपर्ने छ । निर्माण क्षेत्रमा रुख पर्न गएकोले डिजाइनमा परिमार्जन गर्नु परेकोले केही समय ढिलाइ भएको नगरपालिकाका इन्जिनियर शिव शर्माले जानकारी दिनुभयो । उहाँले बसपार्क निर्माणको कुल काममध्ये ५० प्रतिशत काम आरइ वाल बनाउने रहेको छ । अहिले वाल लगाउने काम भएको छ । वनदेवीमा जग्गा सम्याउने कामका साथै वाल पनि उठाइएको छ । वनदेवीमा बसपार्क बनाउन चार वर्षअघि तत्कालिन नगर प्रमुख अशोककुमार शाहीको कार्यकालमा एक सय रोपनी जग्गा व्यवस्थाको प्रक्रिया अघि बढेको थियो । वनदेवीमा बन्ने नयाँ बसपार्कमा साना तथा ठुला सवारीसाधन पार्किङ गर्न सकिने टर्मिनल, यात्रुका लागि आवश्यक सहायता कक्ष, यातायात व्यवसायी कम्पनीका कार्यालय राख्ने योजना रहेको छ । करूवा पत्रिकाबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय