तानसेन । पाल्पा निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद नारायणप्रसाद आचार्यको नेतृत्वमा आर्यभञ्ज्याङ्ग रामपुर सडक खण्ड अन्तरगत माथागढी, रम्भा र पूर्वखोला गाउँपालिका भित्र पर्ने सडक क्षेत्रका खाल्डाखुल्डी पुर्ने, पहिरो सोहोर्ने र साघुँरो बाटो फराक्ने काम भएको छ ।
सांसद आचार्यको पहलमा सडक डिभिजन कार्यालयको स्काभेटर (मेसिन) र गाउँपालिकाको इन्धन सहयोगमा खाल्डाखुल्डी पुर्ने, पहिरो पन्छाउने र साघुँरो बाटो फराकिलो गर्ने काम भएको हो । माथागढी १ नं. वडाको चिदीपानी क्षेत्रमा भएको काममा गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, माथागढी १ नं. वडाका वडाध्यक्ष राजकुमार पन्थीलगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीहरुको उत्साहजनक सहभागितामा सडक सुधारको काम भएको हो ।
विगत लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडकको मर्मत कार्य नहुँदा र ठाउँ ठाउँमा खसेका पहिरो नहटाउदा सवारीसाधन आवतजावतमा भएको समस्याका कारण यात्रुले खेप्नु परेको सास्तीलाई मध्यनजर गरी सडक सुधारको काम गरिएको सांसद आचार्यले बताउनुभयो । उहाँले चाडपर्वका समयमा नागरिकलाई हिड्डुलमा दुख पुग्ने भएकोले पानी नआएको समयमा सडक सुधारको काम गरिएको जानकारी दिनुभयो । सडक साँघुरो हुँदा धेरै सवारीधनी र यात्रुले सास्ती खेप्नुपरेको गुनासो आएपनि दशैंको सेरोफेरोमा काम गर्न खोजेको भएपनी प्राविधिक कारणले ढिला भएको सांसद आचार्यको भनाइ थियो ।
जिल्लाका संघीय कार्यालय र स्थानीय सरकारसंगको सहकार्यमा नागरिकको आवश्यक र सुविधाका विषयमा धेरै काम गर्न सकिने सांसद आचार्यको बताउन्ुभयो । “त्यस्ता धेरै काम छन्, धेरै विषयगत कार्यालयहरु संग मिलेर काम गर्न सकिन्छ । संघीयताको सुन्दर पक्ष पनि यही हो ।” सांसद आचार्यले भन्नुभयो । उहाँले धेरै नागरिकले पाएको दुख देखेर विभिन्न कार्यालयहरु बिच समन्वय गरेर सडक स्तरोन्नतिको पहल गरिएको बताउनुभयो । सडक सुधारको काम माथागढी, रम्भा र पूर्वखोला गाउँपालिका क्षेत्रमा काम गरिएको र जसका लागि स्थानीय गाउँपालिकाहरुले इन्धनसहित व्यवस्थापकीय क्षेत्रा ठूलो सहयोग गरेको बताउनुभयो ।
माथागढी गाउँपालिका अध्यक्ष चिदीले संघीय सांसदको समन्वय अनुसार नागरिकहरुको सहजताका लागि सडक सुधारको काममा सहयोग गरेको बताउनुभयो । उहाँले सर्वसाधारण नागरिकलाई आवतजावतमा सहज बनाउन कसैको क्षेत्राधिकारले नरोक्ने भन्दै गाउँपालिकाले यो सडक स्तरोन्नतिमा काम गरेको बताउनुभयो । सडक स्तरोन्नती हुँदा रामपुर , निस्दी, पूर्वखोला, रम्भा र माथागढीका नागरिकहरुलाई हिडडुलका साथै कृषि तथा पशु जन्य उत्पादन, खाद्यान्न आयात तथा निर्यात गर्न सजिलो हुने अध्यक्ष चिदीको भनाइ छ ।
माथागढी १ नं. वडा चिदीपानी निवासी पूर्ण बहादुर सारुले सडक, पूर्वाधार, प्रदेश र केन्द्र कसैले पनि अपनत्व नलिएको सडक सुधारमा सांसद र स्थानीय सरकारले चासो र प्राथमिकताप्रति प्रशंसा गर्नुभयो । उहाँले यो सडकलाई तत्कालका लागिमात्र नभई योजनावद्ध रुपमा दीर्घकालीन रुपमा स्तरोन्नति गर्नुपर्नेमा जोड दिनुभयो ।
सडकमा रहेका खाल्डाखुल्डी र पहिरोका कारण निकै समस्या झेल्नुपरेको सवारी चालक मुक्त सोमैले बताउनुभयो । सडक सुधारपछि सर्वसाधारण नागरिक, सवारी चालक, सवारीधनी र यात्रुहरुलाई सहज भएको यात्रु नर बहादुर नेपाली बताउनुभयो ।