कार्तिक २१ देखि आठौं मण्डली कप हुने

पाल्पा । मण्डली स्पोर्ट्स क्लब पूर्वखोला गाउँपालिका १ नंं. वडा सिलुवाको आयोजनामा आठौँ मण्डली कप २०८१ आयोजना हुने भएको छ ।

आइतवार तानसेनमा पत्रकार सम्मेलन गरी यही कात्तिक २१ देखि २४ गतेसम्म सिलुवाको मण्डली खेल मैदानमा खुला क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष अन्तप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पूर्वखोला गाउँपालिकाको पाँच लाख र अन्य पूर्वखोलामा जन्मिएका हाल विदेशमा रहेका खेलप्रेमीहरुको सहयोगमा प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।

यस प्रतियोगितामा ए तहका क्लबहरुको सहभागिता रहने छ । जसमा क्लबहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी पनि समावेश गर्न सक्ने अध्यक्ष श्रेष्ठको भनाइ छ । प्रतियोगिताको आठौं संस्करणमा पुरुष तर्फ ६ समूह र महिलातर्फ ४ समूह बिच प्रतिस्पर्धा रहने क्लबले जनाएको छ ।

प्रतियोगितामा पुरुष भलिबलतर्फ पहिलो हुनेले एक लाख ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने समूहले एक लाख नगदसहित कप, मेडल र प्रमाणपत्र, तेस्रो हुनेले ७० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र, सान्त्वना हुनेले ३५ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव कृष्णप्रसाद पंगेनीले बताउनुभयो ।

यस्तैगरी पहिलो पटक आयोजना गर्न लागिएको महिला भलिबल प्रतियोगितामा पहिलो हुने समूहले ३० हजार, दोस्रो हुने समूहले २० हजार, तेस्रो हुने समूहले १० हजार र सान्त्वना हुने समूहलाई ५ हजार रुपैयाँ नगद र कपका साथै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने सचिव पंगेनीको भनाइ छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले गाउँमा रहेको क्लबले ए तहको क्लबहरुको सहभागितामा प्रतियोगिता गर्नु आफैमा महत्वपूर्ण कार्य भएको बताउनुभयो । उहाँले क्लबले गर्दै आएको प्रतियोगिताको प्रशंसा गर्दै यस्ता काममा स्थानीय सरकारले अपनत्व लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

खेलकुद पत्रकार मंच पाल्पाका अध्यक्ष माधवप्रसाद अर्यालले स्थानीयस्तरमा आयोजना हुँर्दै आएको मण्डली कप प्रतियोगिताले खेलाडीहरुमा हौसला बढाउनुका साथै खेलाडी उत्पादनमा मद्दत पुगेको बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन सत्रमा स्थानीय लोक संस्कृति र समापनका दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने बताउर्दै कार्यक्रम अवधिमा उपस्थितिभै कार्यक्रम भव्य रुपमा सफल बनाउन सबै पाल्पालीलाई आयोजक क्लबले अनुरोध समेत गरेको छ ।

सम्बन्धित खवर