पाल्पा । चाडपर्वका बेला यात्रुले खेप्नुपर्ने सास्तीको सहजीकरण गर्नका लागि तानसेन बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा शुभारम्भ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले संयुक्त रुपमा सेवा दिनेगरी कक्षको सुरु गरिएको हो । जिल्लाको रामपुर, बर्तुङ र दोभानमा समेत यात्रु सहायता कक्षको स्थापना गरिएको छ । पर्वका बेला यात्रुलाई सहज र सुरक्षित रुपमा गन्तव्यमा पु¥याउने लक्ष्यका साथ कक्षको सरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । सहायता कक्षबाट विहान ६ बजे देखि साझ ७ बजे सम्म सेवा प्रवाह हुनेछ ।
यात्रु सहायता कक्षको शुभारम्भ गर्दे पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले यात्रु सहायता कक्ष चाडपर्वका समयमा यात्रा गर्दा अलमल र मर्कामा परेका यात्रुहरुलाई सहजीकरण गर्ने औपचारिक संयन्त्र भएको बताउनुभयो । उहाँले कक्षले समस्यामा परेका यात्रुहरुलाई भरपर्दो र सुरक्षित हिसावले गन्तव्यमा पठाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । यसका साथै सहायता कक्षमा बस्ने जनशक्ति जिल्लाको गाडीभाडा दर, सडकको अवस्थालगायतका विषयमा सूचना भएको व्यवस्थापन गर्नुपर्ने बताउर्दै प्रमुख जिल्ला अधिकारी काफ्लेले सहायता कक्षमा जनशक्ति नियमित व्यवस्थापन गर्नुपर्नेमा जोड समेत दिनुभयो । यात्रुको सहज र सुखद यात्राका लागि सहायता कक्षबाट आवश्यक सेवा सहित सहजीकरण गर्नुपर्ने बताउर्दै दुर्घटना सवैका लागि अप्रिय हुने भएकोले ट्राफिक नियमको अक्षरश पालना गर्न सवारी चलाउन चालकलाई आग्रह गर्नुभयो ।
शुभारम्भ कार्यक्रममा तानसेन नगरपालिका ६ का वडाध्यक्ष सागरमान महर्जनले पर्वका बेला यात्रु ठगिने र विभिन्न सास्ती खेप्नुपर्ने अवस्थालाई यात्रु सहायता कक्षले सहयोग गर्ने बताउनुभयो । उहाँले पछिल्ला वर्षमा सुरु गरिएको पर्व लक्षित सहायता केन्द्रको प्रभावकारीता बढ्दो रहेकोले बताउनुभयो । यात्रालाई सहज र सुरक्षित बनाउन सवै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिँर्दै हरेक समस्या समाधानका लागि सहायता कक्षबाट सेवा लिन यात्रुहरुलाई वडाध्यक्ष महर्जनले आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने र सवारी दुर्घटना न्यूनिकरणलगायतको क्षेत्रमा काम गर्ने गरी यात्रु सहायता कक्षको सुरु गरिएको बताउनुभयो । उहाँले क्षमता भन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, तीव्र गतिमा सवारी साधन नहाक्न, यात्रुमैत्री व्यवहार गर्न समेत व्यवसायीहरुलाई आग्रह गर्नुभयो । यदी यात्रामा कुनै समस्या भए तत्काल सहायता कक्ष वा प्रहरीलाई खवर गर्न प्रहरी नायव उपरीक्षक चन्दले अनुरोध गर्नुभयो ।
शुभारम्भ कार्यक्रममा श्रीनगर यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष डिलबहादुर ढुंगानाले यात्रु सहायता कक्ष नियमित रुपमा चल्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा सवारी दुर्घटना निजी सवारीसाधनका कारणले बढ्को बताउर्दै नियमनमा ध्यान दिन प्रहरी प्रशासनलाई अनुरोध गर्नुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले सवारीसाधनमा मापदण्ड अनुसार तोकिएको सिटको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले यात्राका क्रममा यात्रुले कुनै बहानामा सास्ती नपाउनेगरी सेवा प्रवाह गर्न यातायात व्यवासायी र प्रहरीलाई आग्रह समेत गर्नुभयो । सहायता कक्ष स्थापना गर्ने तर कक्षमा सेवाप्रदायक नबस्ने अवस्था विगतमा देखिएकोले नियमित रुपमा जनशक्ति व्यवस्थापन गरेर सेवा दिनुपर्ने कोषाध्यक्ष न्यौपानेको भनाइ थियो । कार्यक्रममा नागरिक ट्राफिक प्रहरीका रुपमा आफूलाई चिनाउनुभएका टोपप्रसाद श्रेष्ठले तयार गर्नुभएको दुर्घटना न्यूनीकरणका लागि आवश्यक ट्राफिक सचेतनामूलक जानकारी व्यवसायी किरण चित्रकारले बाचन गरेर सुनाउनुभएको थियो ।