ज्येष्ठ नागरिक दिवसमा लठ्ठी वितरण

पाल्पा । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र तानसेन ९ दमकडाले ६८ वर्ष माथिका बा–आमालाई लठ्ठी वितरण तथा आँखा परीक्षण शिविर आयोजना गरेको छ ।

वडाभित्रका एक सय ६१ जना ज्येष्ठ नागरिकलाई सुरक्षा सहाराका लागि लठ्ठी वितरण तथा आँखा उपचार गरिएको केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेयले बताउनुभयो । समाजसेवी पदम रानाले ६८ वर्ष माथिका नागरिकका लागि दुई सय ५० वटा लठ्ठी वडाअध्यक्ष राजेशकुमार अर्याललाई र अर्यालले उक्त लठ्ठी ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेयलाई हस्तान्तरण गर्नुभएको समाजसेवी डेन्जिङ रायमाझीले जानकारी दिनुभयो । ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक तथा विश्व दृष्टि दिवसको अवसर पारेर आँखा परीक्षण गर्दा १२ जनालाई मोतिया विन्दु र ४ जनालाई मासु पलाएको देखिएकाले शल्यक्रियाका लागि रेफरल गरिएको नेपाल नेत्रज्योति संघका सचिव राजेन्द्र लिगलले जानकारी दिनुभयो ।

कार्यक्रमका जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरेले ज्येष्ठ नागरिकहरूसँग ज्ञान, सीप तथा अनुभव रहेको र त्यो ज्ञानलाई समुदायमा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले ज्येष्ठ नागरिक मिलन केन्द्रलाई ज्येष्ठ नागरिक स्रोत केन्द्रका रूपमा विकास गरी उहाँहरूको क्षमतालाई राष्ट्र निर्माण र समाज रूपान्तरणमा लगाउन खोजिएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको सहज जीवनयापन र सम्मानपूर्ण बाँच्न पाउने हकको सुनिश्चितताका लागि निरन्तर खबरदारीको खाँचो रहेको औंल्याउनुभयो ।
नेपाल नेत्रज्योति संघ पाल्पाका अध्यक्ष बुद्धिप्रसाद शर्माले ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार र सहज पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । वगनासकाली २ पोखराथोकका समाजसेवी पदम रानाले जेष्ठ नागरिकहरूकै आशिर्वादले आफू यो स्थानमा आएको र उहाँहरूलाई सहयोग र सहायता गर्न पाउँदा आभारी रहेको बताउनुभयो ।

बिश्वमा ज्येष्ठ नागरिकहरुको हेरचाह र सहयोग गर्ने प्रणालीलाई सबल पार्न जरुरी छ भन्ने नाराका साथ मनाइएको कार्यक्रममा ज्येष्ठ नागरिक वासु घिमिरे, श्याम कार्कीलगायतले मञ्चको कार्यक्रमप्रति प्रशन्ननता व्यक्त गर्नुभएको मिलन केन्द्रका सचिव प्रेमराज पंगेनीको जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय