चाडपर्व लक्षित रामपुर बजारको अनुगमन

पाल्पा । रामपुर नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । नगरपालिका भित्रका मुख्य बजार क्षेत्रको सोमबार अनुगमन गरिएको हो ।

चाडपर्वको समयमा मूल्य वृद्धि गर्ने, अखाद्यवस्तुको विक्री, म्याद नाघेका सामग्री विक्री वितरण हुन सक्ने भएकोले अनुगमन गरिएको हो । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, भैरहवा, रामपुर नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा, इलाका प्रशासन कार्यालय रामपुर, इलाका प्रहरी कार्यालय रामपुर, रामपुर उद्योग वाणिज्य संघ र पत्रकार सहितको संयुक्त टोलीले रामपुर नगरपालिका वडा नं. ३ को रजघरा बजार, वडा नं. ४ को सदावर्त बजार, वडा नं. ५ को बेझाँड बजार, मटेरी, वडा नं. ६ को विजयपुर बजार र वडा नं.७ को किसानबारी बजारका मासु पसल, डेरी उद्योग, माछा पसल, किराना तथा खाद्यान्न पसल, मिठाइ पसललगायतका ५८ वटा पसलको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा ६७ हजार ३ सय ७२ रुपैयाँ बराबरको म्याद गुज्रिएका सामान जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो । अनुगमनमा खाद्यवस्तुको म्याद भए नभएको, होटल तथा मिठाइ पसलमा प्रयोग गर्ने तेलको गुणस्तर मापन, खाद्यवस्तुमा प्रयोग भएको रंगको अवस्था, मासु पसल तथा दुग्ध उद्योगको सरसफाईको अवस्था, नापतौल उपकरण ठिक भएन भएको, व्यवसायदर्ता सम्बन्धित निकायमा गरे नगरेको, अन्तशुल्क तिरे नतिरेको विषय हेरिएको थियो । जसमा मूल्य सूचि नराखेको, व्यवसाय दर्ता, नवीकरण तथा सूचीकृत नगरेको, म्याद नाघेको पेन्ट, खाद्यवस्तु, पेयपदार्थ, मिठाइको पसलमा प्रयोग गर्न राखिएको रंगसंगै अखाद्य वस्तु, सुर्तिजन्य पदार्थ, लगायतको सामाग्री जफत गरेको रामपुर नगरपालिका योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो ।

खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले केही किराना पसलमा मासको कालो दालमा रंग मिसावट भएको पाइएकाले विक्री वितरणमा रोक लगाएको जानकारी दिनुभयो । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका निमित्त निर्देशक इश्वरचन्द्र अर्यालले उपभोक्ता हितका लागि निर्देशनालयले निरन्तर रुपमा बजार अनुगमन गर्दै आएको र चाडपर्वलाई लक्षित गरी अहिले अनुगमनको कार्यलाई तीव्रता दिएको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले खाद्य वस्तु खरिद विक्री गर्दा व्यवसायी र ग्रहाक दुवैले म्याद भए नभएको, मिसावट भए नभएको राम्रो संग एकिन गरेर मात्रै खरिद विक्री गर्नु पर्ने बताउनुभयो ।

अनुगमन टोलीका संयोजक एवं रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले स्वच्छ र स्वास्थ्यकर सामान उपभोग गर्न पाउने उपभोक्ताको अधिकारलाई सुनिश्चितताका लागि अनुगमनलाई थप प्रभावकारी बनाउने बताउनुभयो । पर्वहरुमा मात्र नभई अन्य समयमा पनि नियमित बजार अनुगमन गरी मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गरिने उपप्रमुख थापाको भनाइ छ ।

सम्बन्धित खवर