पाल्पा । स्वामी ध्यान चेष्टा दुर्गा पोखरेलले आफ्नो ५० औं जन्मोत्सवका अवसरमा ज्ञानका लागि ध्यान अभियानको शुभारम्भ गर्नुभएको छ । उहाँले आफ्नै जन्मस्थान रिब्दकोट ४ भैरवस्थानबाट अभियानको सुरु गर्नुभएको हो ।
अभियान शुभारम्ममा आयोजित औपचारिक कार्यक्रममा अभियान बारे जानकारी गराउँर्दै ध्यान विना जीवन सफल नहुने र जीवनलाई चिन्न ध्यान आवश्यक रहेको स्वामी पोखरेलले बताउनुभयो । उहाँले आफ्नो करिब डेढ दशक लामो आध्यात्मिक अनुभव र सिकाइबाट प्राप्त ज्ञानको निचोड सम्पूर्ण समस्याहरुको समाधान ध्यान रहेकोले ध्यानलाई सबै क्षेत्रमा फैलाउन अभियान सुरु गरेको जानकारी दिनुभयो ।
अभियान शुभारम्भ कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जीवनमा आफ्नो लक्ष्य प्राप्त गर्न ध्यान अतिआवश्यक रहेको बताउनुभयो । उहाँले जीवनलाई सफल र सार्थक बनाउन ध्यान गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो । यसका साथै अध्यक्ष कार्कीले मानिस खुसी हुनका लागि खुसी बाड्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सफल जीवनका लागि ध्यान र ज्ञानको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले विद्यलायस्तरबाटै ध्यानको व्यवस्थापन गर्न सकेको खण्डमा जीवन र शिक्षामा समय अनुसारको सुधार आउने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले ध्यानका माध्यमबाट समाजमा योगदान गर्ने उद्देश्यले सुरु गरिएको अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले ध्यानले जीवनमा एकाग्रता, उत्प्रेरणसंगै नव जागरण ल्याउने भएकोले समाज परिर्वतनका लागि सहयोग रहेको बताउनुभयो ।
सोही अवसरमा एतिहासिक तथा धार्मिक पर्यटकीय स्थल भैरवस्थानको पर्यटन प्रवद्र्धनका लागि तयार गरिएको घुम्न जाउँ है ल है , पाल्पाको भैरवस्थान भन्ने बोलको गीत समेत सार्वजनिक गरिएको छ । स्वमी पोखरेलको शब्द लय र कृष्णभक्त श्रेष्ठ, सन्तोष लामा र भिमा अधिकारीको स्वरमा रहेको गीतले भैरवस्थानको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास लिइएको छ ।