जलवायु उत्थानशील सम्बन्धी आवश्यकता पहिचान कार्यशाला

पाल्पा । समुदायको जलवायु उत्थानशील क्षमता अभिवृद्धिको लागि आवश्यकता पहिचान कार्यशाला गोष्ठी तानसेनमा सम्पन्न भएको छ ।

डिभिजन वन कार्यालय पाल्पा र राष्ट्रिय प्रकृति संरक्षण कोष, गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको संयुक्त आयोजनामा कार्यशाला गोष्ठी भएको हो ।

गोष्ठीमा आयोजनाका कार्यक्रम संयोजक डा.राजन पौडेलले राष्ट्रिय प्रकृति संरक्षण कोष र आयोजनाको उद्देश्य, सम्पादन गर्दै आएको गतिविधि र प्रभाव बारे जानकारी गराउर्दै आफूहरु समृद्धिका लागि संरक्षण अभियानमा काम गरिरहेको बताउनुभयो ।

आयोजनाका क्षमता विकास अधिकारी सुनिल सापकोटाले जलवायु उत्थानशील, अनुकुलतासहित आयोजनाको कार्यक्षेत्र रहेका पाल्पाका ७ स्थानीय तहमा जलवायु परिर्वतनका कारण उत्पन्न समस्या र त्यसको न्यूनीकरणका लागि पहिचान गरिएका सवाल सम्बोधनका लागि सञ्चालन गर्नुपर्ने तालिमको प्राथमिकीकरणका विषयमा सहजीकरण गर्नुभएको थियो ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारयणदेव भट्राईले जलवायु अनुकुलता र उत्थानशीलको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले प्रकृति संरक्षणमा जनता निकै लागि परेको बताउदै पाल्पा जिल्लाका सबै स्थानीय तहले सघाउ गर्दै आएको जानकारी गराउनुभयो । डिभिजन वन कार्यालयको अग्रसरतामा गत वर्ष एक लाख ५० हजार खयरको विरुवा रोपिएको समेत जानकारी दिनुभयो । पाल्पामा गिद्ध संरक्षण अभियान चलेको बताउर्दै रामपुरको खैरेनी सामुदायिक वनलाई गिद्ध संरक्षित क्षेत्र बनाउन सबैले पहल गर्दा राम्रो हुने प्रमुख भट्राईको भनाइ थियो ।

गोष्ठीमा रामपुर नगरपालिका, तानसेन नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका, बगनासकाली गाउँपालिका र रिब्दीकोट गाउँपालिकाका सहभागीहरुले आफ्नो स्थानीय तहमा जलवायु परिर्वतनले निम्त्याएको समस्या र समाधानका लागि गर्नुपर्ने आवश्यक गतिविधिहरुका विषयमा जानकारी गराएका थिए । जसमा मुख्यतया पाल्पामा पहिरो जाने, वन डढेलो लाग्ने, पानीका मुहान सुक्दै गएको, वन्यजन्तुले खेती नष्ट गरिदिएको, रैथाने वालीको लोप, फोहोरमैला व्यवस्थापन प्रभावकारी नभएको, वैज्ञानिक वन व्यवस्थापनका साथै वनलाई उद्यमशीलतामा जोडन नसकिएको जस्ता विषय उठान भएका थिए ।

गोष्ठीमा जलवायु विज्ञ डा.अनिता श्रेष्ठले जलवायु उत्थानशीलताका लागि वन वातावरण, कृषि वन, सिमसार क्षेत्र र घासे मैदानमा गर्नुपर्ने र भैरहेको असल अभ्यासका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यशाला गोष्ठबाट पाल्पा जिल्लामा रहेका संकटासन्न समुदायको जलवायु उत्थानशील क्षमता अभिवृद्धि गर्नका लागि पहिरो नियन्त्रणका लागि तालिम, वन डढेलो नियन्त्रण सम्बन्धी तालिम, पानीको मुहान संरक्षण तथा व्यवस्थापन सम्बन्धी तालिम, जैविक विविधता संरक्षण (विशेष गरी बोंदर र बँदेलको व्यवस्थापन) र वन व्यवस्थापन सम्बन्धी तालिम, भू उपयोग नीति सम्बन्धी तालिम, वनमा आधारित उद्यमशीलता सम्बन्धी तालिम, विपद् व्यवस्थापन सम्बन्धी तालिम, कीट व्यवस्थापन सम्बन्धी तालिमा, वैकल्पिक खेती प्रणाली तालिमलगायतका गतिविधि गर्नुपर्ने निश्कर्ष निकालिएको वरिष्ठ वन अधिकृत खिल बहादुर तामाङले जानकारी दिनुभयो । करुवा अर्धसाप्ताहिक पत्रिकाबाट

सम्बन्धित खवर