पाल्पा । बगनासकाली गाउँपालिका कार्यालयले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रमलाई व्यवस्थित तथा प्रभावकारी रुपमा कार्यान्वयन गर्न उपभोक्ता समितिलाई तालिम दिएको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा सञ्चालन हुने योजना तथा कार्यक्रम सञ्चालनका लागि गाउँपालिका भित्र गठन भएका उपभोक्ता समितिलाई तालिम उपलब्ध गराइएको हो । यस वर्ष गाउँपालिकाको ९ वडामा दुई सय ६ र लक्षित समूहतर्फ ३७ वटा गरी कुल दुई सय ४३ वटा उपभोक्ता समितिमार्फत योजनाको काम हुने गाउँपालिकाले जनाएको छ । गठन भएका उपभोक्ता समितिका अध्यक्ष र सचिव र लक्षित समूहबाट अध्यक्षगरी चार सय ४९ जनालाई तालिम लिएका छन् । तालिमले समयमै योजनाको सम्झौता, योजनाको गुणस्तरीय काम, विकासमा जनसहभागिता वृद्धिका साथै समयमै योजनाको फरफारक मद्दत गर्न विश्वास लिइएको छ ।
तालिममा योजना तथा कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा ख्याल गर्नुपर्ने विषयहरु, उपभोक्ता समितिको बैठक तथा भेलाको निर्णयमा समेटनु पर्ने विषयहरू, विल भपपाई, योजना सम्मmौता र फरफारकका लागि आवश्यक पर्ने कागजातहरू, प्रस्तावना लेखन, उपभोक्ता समितिको स्वघोषणा पत्र, आयोजनाको लागि आवश्यक फारमहरू भर्ने तरिकाका विषयमा सहजीकरण गरिएको योजना शाखा प्रमुख भरतराज घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकामा यस वर्ष न्यूनतम २० हजारदेखि दश लाखसम्मको योजना उपभोक्ता समितिबाट गर्ने तयारी गरेको छ । दश लाख भन्दा माथिका र उपभोक्ता समितिले गर्न नसक्ने भनि लेखि आएका योजनाहरू कोटेशन तथा ठेक्काबाट कार्यान्वयन गर्ने योजना शाखाले जनाएको छ ।
ज्ञान र सूचनाको अभावमा पछिल्लो समय स्थानीय तहमा योजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्ने र कामको जिम्मा ठेकेदारलाई दिने परिपाटी पूर्ण रुपमा बन्द गर्नका लागि उपभोक्तालाई क्षमता विकासको तालिम उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । उहाँले विगतका वर्षका सीमित योजनाहरुमा उपभोक्ता समितिले निर्माण व्यवसायीलाई कामको जिम्म लगाएको सुन्नमा आएको बताउर्दै यस वर्ष त्यस्तो काम गर्ने उपभोक्ता समितिले सञ्चालन गरेको योजनाको फरफारक नै रोक्का गरिने बताउनुभयो ।
उपभोक्ता समितिहरुलाई योजना तथा कार्यक्रममको काम कसरी गर्ने भन्ने ज्ञानको अभाव हुँदा समयमै काम सम्पन्न नहुँने, फरफारकमा सास्ती खेप्नुपर्ने अवस्था हटाउन वार्षिक रुपमा उपभोक्ता समितिलाई तालिम दिँदै आएको उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । तालिमपछि योजना सञ्चालन तथा फरफारका विषयमा जानकारी हुँदा समयमै फरफार र गुणस्तरीय काम हुने गरेको उहाँको भनाइ छ ।
जनताको माग र आवश्यकतालाई सम्बोधन गर्नका लागि तयार भएको योजना तथा कार्यक्रम सञ्चालनका लागि देखिएको समस्या र एउटै कामका लागि पटक पटक धाउनुपर्ने बाध्यताको अन्त्यका लागि उपभोक्ता समितिलाई प्रशिक्षित गरिएको गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले बताउनुभयो । तालिमले विकासका काममा उपभोक्तालाई जिम्मेबार बनाउनुका साथै गाउँपालिकाको वार्षिक प्रगतिमा समेत सघाउ पुराएको उहाँले बताउनुभयो । करुवा अर्धसाप्ताहिक पत्रिकाबाट