आइटी प्रयोगशालाका लागि सांसद आचार्यले मागे बजेट

तानसेन । पाल्पा निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद नारायणप्रसाद आचार्यले विभिन्न विद्यालयमा आइटी प्रयोगशालाको व्यवस्थापनका लागि बजेट माग गर्नुभएको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरवार, काठमाडौं पुगेर मन्त्री पृथ्वी सुब्बा गुरुङलाई भेटेर आफ्नो निर्वाचन क्षेत्रमा रहेका विद्यालयलाई समय अनुसार प्रविधिमैत्री बनाउनका लागि आइटी प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्थापनका लागि माग गरेको सांसद आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरणमा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत रहेका सामुदायिक विद्यालयहरु जनता माध्यमिक विद्यालय, निस्दी ५, जनमार्ग माध्यमिक विद्यालय, पूर्वखोला गाउँपालिका १, जनशान्ति माध्यमिक विद्यालय, रामपुर नगरपालिका ९, भानुभक्त माध्यमिक विद्यालय, रामपुर नगरपालिका १० र आधारभुत माध्यमिक विद्यालय रामपुर नगरपालिका ७ को लागि आइटी प्रयोगशाला व्यवस्थापनका लागि बजेट विनियोजन गर्न माग गरिएको हो । विश्व बजारमा विद्यार्थी सहज रुपमा विक्ने र टिक्ने बनाउनका लागि आधुनिक शिक्षा प्रदान गर्नको लागि सबै विद्यालयका क्रमिक रुपमा आइटी प्रयोगशाला व्यवस्थापनका लागि बजेट विनियोजनको पहल गर्दै जाने सांसद आचार्यको भनाइ छ ।

यसका साथै सांसद आचार्यले सामुदायिक रेडियो रामपुर र सामुदायिक रेडियो मदनपोखरालाई प्रविधिसहित भौतिक पूर्वाधारका लागि बजेट विनियोजनका लागि समेत माग गर्नुभएको सांसद आचार्यको सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर