कचल र दोभान बने पूर्ण संस्थागत सुत्केरी वडा

पाल्पा । तिनाउ गाउँपालिकाले दुई वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको छ । गाउँपालिकाको वडा नं. १ कचल र २ नं. दोभानलाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको हो ।

गाउँपालिकाको वडा नं. १ र २ मा स्वास्थ्य संस्थामा सत प्रतिशत सुत्केरी गराउन सफल भएपछि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो । नेपाल सरकारले तोकेको विभिन्न चरणका सूचक पूरा गरी पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृशिशुको ज्यान गुमाउनुपर्ने बाध्यता हटेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

घोषणा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले सुत्केरी महिलाले घरगोठमा सुत्केरी हुने परम्पराको अन्त्य गरी सुरक्षित र भरपर्दो अवस्थामा सुत्केरी हुन स्वास्थ्य संस्थामा नै जानुपर्ने बताउनुभयो । उहाँले परम्परागतरूपमा सुत्केरी हुँदा मातृशिशुको नै खतरा हुने हुँदा स्वास्थ्य संस्थामा पुगेर प्रसूति हुनु दुवैलाई राम्रो हुने बताउनुभयो ।

वडा नं. १ र २ मा घरमा सुत्केरी हुने संख्या शून्य रहेको गाउँपालिकाले जनाएको छ । एक वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, गर्भावस्थामा प्रोटोकलअनुसार गर्भ जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गरी २ सय २५ चक्की आइरन खाएको हुनुपर्नेलगायतका सूचक पूरा भएपछि मात्र पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको हो ।

त्यस्तै पूर्ण संस्थागत सुत्केरी वडाका लागि गर्भावस्थामा पिएमटीसिटी सेवा लिएको हुनुपर्ने, गर्भावस्थामा टिटी खोप दुईपटक लगाएको हुनुपर्ने, सुत्केरीपश्चात प्रोटोकलअनुसार आमा र बच्चाको जाँच हुनुपर्नेलगायतका सूचक पूरा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेख बहादुर बस्नेतले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष ओम बहादुर घर्तीमगरले पूर्ण संस्थागत सुत्केरी बनाउनका लागि गाउँपालिकाले निरन्तर वडा तहदेखि कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । नेकपा एमाले पाल्पाका अध्यक्ष समेत ्हनुभएका घर्तीमगरले पछिल्लो समयमा स्थानीय तहले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर निकै प्रभावकारी अभियान सञ्चालन गरेको बताउनुभयो ।

नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीति अनुरूप गाउँपालिकाले वडा–वडा तहबाट घरमै सुत्केरी हुने दर घटाउने अभियानलाई जोड दिएर काम गरिरहेको गाउँपालिकाका प्रवक्ता यादव अर्यालले बताउनुभयो ।

सम्बन्धित खवर