पाल्पा । बगनासकाली गाउँपालिकामा चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकामा तोकिएको मापदण्ड र प्रक्रिया पूरा गरेका ३ हजार १ सय ४७ जना योग्य लाभग्राहीका लागि ३ करोड १४ लाख ८ हजार ९१ रुपैंया भत्ता वितरणको तयारी गरेको पञ्जिकरण शाखाले जनाएको छ । सामाजिक सुरक्षा शाखा र आर्थिक प्रशासनशाखाको तयारी पूरा भएपछि कोष तथा लेखा लेखा नियन्त्रण कार्यालयबाट सिधै लाभग्राहीको बैंक खातामा रकम जम्मा हुने लेखा अधिकृत कोशलराज पौडेलले जानकारी दिनुभयो ।
बगनासकालीमा ६८ वर्ष माथिका जेष्ठ नागरिक सख्या १ हजार ९ सय ५७ जना, दलित जेष्ठ नागरिक १ सय ४० जना, एकल महिला जेष्ठ नागरिक २ सय ७२ जना, विधवा (आर्थिक सहायता) ४ सय ३५, पूर्ण अपाङ्ग ४७ जना जना, अपाङ्गता ख वर्ग आर्थिक सहायता १ सय ४ जना र दलित बालपोषण १ सय ९२ जना सामाजिक सुरक्षा भत्ताका लागि सूचिकृत भएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षको चौथो त्रैमासिकमा ३ हजार १ सय ७२ लाभग्राही कायम भएकोमा चालु आर्थिक वर्षमा प्रक्रिया अनुसार लगतकट्टा र थपसहित ३ हजार १ सय ४७ लाभग्राही कायम भएका हुन् । आर्थिक वर्ष २०८१÷८२ मा ३ हजार ८२ जना लाभग्राहीले नविकरण गरेको र ६६ जना नयाँ लाभग्राही थप भएका छन् । यसका साथै गाउँपालिकाभरीमा २५ जना लाभग्राही देश बाहिर र सम्पर्कमा नआएकोले नविकरण छुट भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले ग र घ वर्गका लाभग्राहीको लागि वितरण गरिने निर्वाह भत्ताको नविकरण विवरण संकलन समेत सकिएको जानाएको छ । गाउँपालिकाभित्रका ग वर्गका पहेंलो कार्डका लागि मासिक ५ सय र घ वर्ग सेतो कार्ड हुने अपागंता भएका लागि मासिक ३ सय निर्वाह भत्ता विरण गर्दै आएको छ । ग र घ वर्गका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता गाउँपालिकाले अर्धवार्षिक रूपमा लाभग्राहीको खातामा जम्मा गरिदिने प्रवक्ता टीकाबहादुर थापाले जानकारी दिनुभयो ।