पाल्पा । सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि सञ्चालन भैरहेको विद्यालय दिवा खाजा कार्यक्रमले प्रभावकारी बन्दै गएको पाइएको छ ।
बालबालिकाको वृद्धि र विकासमा सहयोग गर्ने, विद्यालय शिक्षामा भर्नादर अभिवृद्धि गर्ने, विद्यालय छाड्ने दर घटाउने र सिकाइ उपलब्धि बढाउने उद्देश्यले सुरु भएको दिवा खाजा कार्यक्रमको प्रभावकारीता बढेको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।
कार्यक्रमको प्रभावकारीतालाई मध्यनजरगरी संघीय सरकारले उपलब्ध गराउर्दै आएको प्रति विद्यार्थी १५ रुपैयाँ खाजा अनुदानमा अधिंकाश स्थानीय तहले ५ रुपैयाँ थपेर २० रुपैयाँको खाजा खुवाउर्दै आएका छन् । जिल्लाका रम्भा गाउँपालिका, तिनाउ गाउँपालिका, निस्दी गाउँपालिका र तानसेन नगरपालिका, रैनादेवी छहरा गाउँपालिकाले ५ रुपैयाँ थपेर २० रुपैयाँ र अन्य स्थानीय तहले १५ रुपैयाँबाटै विद्यार्थीलाई दिवा खाजा खुवाइरहेका छन् ।
यसका साथै रम्भा गाउँपालिका अन्तरगत रहेका विद्यालयमा कक्षा ९ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको छ । विद्यालय खाजा कार्यक्रम प्रभावकारी भएकाले यसलाई गाउँपालिकाले कक्षा र रकम थप गरेरै भए पनि निरन्तरता दिइएको छ । कार्यविधि तयार गरी प्रति विद्यार्थीलाई २० रुपैयाँ बराबरको खाजा उपलब्ध गराउर्दै आएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनुभयो । खाजा कार्यक्रमले विद्यार्थीको टिकाउ दरमा वृद्धि भएको उहाँको भनाइ छ । यस्तैगरी निस्दी गाउँपालिकाले पनि संघीय सरकारले कक्षा ५ सम्म प्रदान गरेको १५ रुपैयाँमा ५ रुपैयाँ थपेर कक्षा ८ सम्मका विद्यार्थीलाई नियमित खाजा खुवाउने गरेको छ । भौगोलिक विकटताका कारण बालबालिका नियमित विद्यालयमा नबस्ने, दिउँसोको खाजा छुट्टीमा घर जाने समस्याको अन्त्यका लागि कक्षा ८ सम्म दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले जानकारी दिनुभयो ।
तानसेन नगरपालिका अन्तर्गतका विद्यालयमा पनि कक्षा ५ सम्मका विद्यार्थीलाई स्थानीय स्रोतबाट ५ रुपैयाँ थप गरी विद्यालयमै दिवा खाजा खुवाइने नगरपालिकाकी उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताउनुभयो । उहाँले खाजा कार्यक्रममले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा समेत सघाउ पुगेको बताउनुभयो । तिनाउ गाउँपालिकाले पनि संघीय सरकारले कक्षा ५ सम्म प्रदान गरेको १५ रुपैयाँको खाजा अनुदानमा ५ रुपैयाँ थप गरेर कक्षा ५ सम्मका विद्यार्थीहरुलाई २० रुपैयाँको खाजाको व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । रैनादेवी छहरा गाउँपालिकाले पनि संघीय अनुदानमा ५ रुपैयाँ थप गरेर स्कुलमै खाजा खुवाउने गरेको शिक्षा शाखा प्रमुख निशा पाण्डेले बताउनुभयो । उहाँले पाँच रुपैयाँ थपेर खाजा व्यवस्थापन गर्दा पोषणयुक्त खाजा खुवाउन सकिएको बताउनुभयो ।
माथागढी गाउँपालिकाले दिवा खाजा कार्यक्रमलाई ६ कक्षासम्म लागु गरेको छ । खाजानास्ता खान नपाएर कतिपय विद्यार्थी भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गर्न चालु आर्थिक वर्षबाट खाजा खुवाउने व्यवस्था गरिएको अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । त्यस्तै रामपुर नगरपालिका र बगनासकाली, पूर्वखोला, रिब्दिकोट गाउँपालिकाले भने संघीय अनुदानबाट प्राप्त बजेटबाट खाजाको व्यवस्थापन गर्दै आएको पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयो ।
रामपुर आधारभुत विद्यालयका प्रद्यानाध्यापक बिजय शर्माले विद्यालयमा दिवा खाजा कक्षा १० सम्म व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । खाजा कार्यक्रमले बालबालिका विद्यालय आउने उत्साह बढ्नुका साथै सिकाइ उपलब्धिमा समेत मद्दत पुगेको विद्यालयहरुले जनाएका छन् । करूवा पत्रिकाबाट