वडाबाटै योजना सम्झौताका लागि रामपुरको बैकहरुसंग छलफल

पाल्पा । रामपुर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका बैकहरुसंग छलफल गरेको छ । सामाजिक सुरक्षा भत्ता लिने नगरका लाभग्राहीहरुको सुविधा र योजनाका उपभोक्ता समितिको बैंक खाता सञ्चालनका सम्बन्धमा छलफल भएको हो ।

छलफलले रामपुर नगरपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाको बैंक खाता खोल्नका लागि हरेक वडामा पुगेर बैंकिङ सुविधा दिने निर्णय भएको छ । निर्णय अनुसार अब सबै वडामा बैकको उपस्थितिमा उपभोक्ता समितिको खाता खोलिने भएको छ । छलफलले आगामी दिनमा नगरपालिकासंगको समन्वयमा घुम्ती सेवामार्फत नगरवासीहरुलाई सामाजिक सुरक्षा भत्ता वडा तथा टोलबाटै वितरण गर्ने भएको छ ।

छलफल कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बैंकले दिने सेवालाई जनमुखी बनाई बैंक र नगरपालिका बिच समन्वय गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिका भित्र सञ्चालन गर्ने योजना उपभोक्ता समितिको खाता सञ्चालनमा एक रुपता ल्याउन नगरपालिका भित्रका सबै बैंकहरुलाई आग्रह गर्नुभयो । नगरवासीको सुविधाका लागि प्रत्येक वडा कार्यालयमा गएर खाता खोल्ने र सामाजिक सुरक्षा भत्ता पनि वडा र टोलबाट वितरण गर्ने नगरपालिकाको योजना रहेकाले यसमा सहयोग गर्न नगर प्रमुख थापाले आग्रह गर्नुभयो ।

उपप्रमुख बाल कुमारी थापाले नगरवासीको सुविधा र आर्थिक समृद्धिका लागि सहज र सरल तरिकाले लगानी गर्न बैकहरुलाई आग्रह गर्नुभयो । उहाँले उद्यम र आम्दानीको आधारमा लगानी गर्दा दुबै पक्षलाई फाइदा पुग्ने बताउनुभयो ।

छलफलमा नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं.१ का वडाध्यक्ष कपिल बहादुर खाँणले बैंकले दिने हरेक वित्तीय सेवालाई सहज र सरल बनाउनुपर्नेमा जोड दिनुभयो । साथै बैंक र नगरपालिका दुवै जनताको सेवाका लागि भएकाले सेवा प्रवाह तथा कार्यक्रम सञ्चालन गर्दा समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।

कृषि विकास बैंक रामपुर शाखाका प्रमुख केशवराज डोटेलले नगरपालिकाले जनताको सेवाका लागि गरेको अनुरोधलाई साथ दिएर बैकहरुले जिम्मेवारी पूरा गर्ने बताउनुभयो । जनता बैंक रामपुर शाखाका प्रबन्धक कृष्ण प्रसाद भट्टराईले उपभोक्ता समितिको खाता खोल्न हरेक वडामा गएर खोले पनि कारोबार सकिए पछि खाता बन्द नगर्ने समस्या रहेकाले यसको सहजीकरणका लागि अनुरोध गर्नुभयो । लक्ष्मी सनराईज वैंक रामपुर शाखाका प्रमुख अमृत खड्काले सुरक्षा र अन्य आवश्यक व्यवस्थापन गरे वडा र टोलबाट सेवा प्रवाह गर्न सक्ने बताउनुभयो ।

छलफलपछि बैंकका शाखा प्रमुखहरुले नगरपालिसंगको समन्वयमा उपभोक्ता समितिको खाता खोल्नका लागि जिम्मेवारी बाँडफाँड समेत गरेका छन् । जसमा नगरपालिकाको वडा नं. १ र १० मा कृषि विकास बैंक, वडा नं.२ मा लक्ष्मी सनराईज बैंक, वडा नं. ३ मा मुक्तिनाथ विकास बैंक, वडा नं.४ मा नेपाल एसविआइ बैंक, वडा नं. ५ मा गरिमा विकास बैंक, वडा नं.६ मा कामना सेवा विकास बैंक, वडा नं. ७ मा एनआईएमवी बैंक, वडा नं. ८ मा राष्ट्रिय वाणिज्य बैंक र वडा नं.९ मा ग्लोबल आइएमई बैंक रामपुर शाखाले योजनाका उपभोक्ता समितिको खाता खोल्ने सेवा दिने टुंगो लगाएका योजना शाखा प्रमुख विक्रम बस्नेतले बताउनुभयो ।

सम्बन्धित खवर