एक करोडमा पार्किङ पूर्वाधार बन्दै

पाल्पा । रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानमा एक करोड लागतमा पार्किङ पूर्वाधार निर्माण हुने भएको छ । एतिहासिक तथा धार्मिक पर्यटकीय स्थल भैरवनाथ मन्दिरमा आउने दर्शनार्थीहरुको सुविधालाई मध्यनजर गर्दै पार्किङ पूर्वाधार निर्माण गर्न लागिएको हो ।

भैरवनाथ मन्दिरमा आउने दर्शनार्थी र पर्यटकहरुको सवारी साधन व्यवस्थापनमा हुँर्दै आएको समस्यालाई हटाउन गाउँपालिकाको पहलमा संघीय सरकारको बजेटबाट पार्किङ पूर्वाधार निर्माण हुन लागेको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८१/८२ मा काम हुने गरी रुपन्देही जिल्लाको सिद्धार्थनगरमा रहेको संघीय कार्यान्वयन इकाईमार्फत ठेक्का प्रक्रियाबाट पूर्वाधार निर्माणका काम हुने छ । जसका लागि इकाईले स्टीमेटको काम गरिरहेको रिब्दीकोट गाउँपालिकाका इन्जिनियर पुरन कार्कीले जानकारी दिनुभयो ।

पार्किङ पूर्वाधार निर्माणका लागि गाउँपालिकाले नौ हजार ७६ वर्ग मिटर जग्गा ३० वर्षका लागि भाडामा लिएको छ । पार्किङ सेवा सञ्चालन भएपछि गाउँपालिकाले वार्षिक आम्दानीको कर कट्टी गरी ४० प्रतिशत रकम तिर्नेगरी रिब्दीकोट ४ भैरवस्थान निवासी बसन्त थापा, रामबहादुर थापा, सुजित थापा, कमल थापासंग सम्झौता भएको छ । उक्त जग्गामा अहिले कम्पाउडिंग तथा पार्किङ संरचना, शौचालय आदी निर्माण गरिने छ ।

पूर्वाधार निर्माण भएपछि गाउँपालिकाको प्रत्यक्ष सहभागितामा सशुल्क रुपमा पार्किङ सेवा सञ्चालनमा आउने गाउँपालिकाले जनाएको छ । यसले गर्दा गाउँपालिकाको आन्तरिक आम्दानीमा वृद्धि हुनुका साथै दर्शनार्थीहरुलाई साधुरो सडक र पार्किङस्थल नहँुदा भोग्नु परेको समस्याको अन्त्य हुने छ । पूर्वाधार निर्माण कार्य सकिएपछि पूर्वाधारको सुरक्षा, मर्मत सम्भार र पूर्ण रुपमा व्यवस्थापनका लागि गाउपालिका प्रतिबद्ध रहेको अध्यक्ष कार्कीको भनाइ छ ।

भैरनाथ मन्दिर परिसरमा व्यवस्थित पार्किङ स्थल नहुँदा यात्रु तथा दर्शनार्थीहरुले सास्ती खेप्नु परेको छ । मन्दिर दर्शनका लागि आउनेहरुको चाप बढ्दो रहेकोले वैकल्पिक पार्किङस्थल निर्माण हुनु राम्रो भएको भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले बताउनुभयो । उहाँका अनुसार पुरातात्विक सम्पदाका हिसावले ५ सय मिटर अगाडि नै सवारी साधन राख्नुपर्ने भएपनि अहिले स्थान अभावका कारण साँधुरो सडकको दायाँ बायाँ र मन्दिर नजिकै गाडी लैजाने बेथिती रहेकोले पार्किङ पूर्वाधार निर्माण भएपछि व्यवस्थापनमा सहज हुने बताउनुभयो । करूवा पत्रिकामा समाचार प्रकाशित छ ।

सम्बन्धित खवर