
पाल्पा । निस्दी गाउँपालिकामा बालविवाह न्यूनीकरणका लागि सञ्चालन गरिएको सचेतना अभियानले बालविवाहमा कमी आएको छ । बालविवाह विरुद्धको सचेतना अभियानले तीब्रता पाएसंगै नतिजा देखिन थालेको हो । गाउँपालिकाले बालविवाह न्यूनीकरणको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिनुभयो । उहाँले जसका कारण पछिल्ला वर्षमा बालविवाह गर्नेको संख्यामा कमी आएको बताउनुभयो ।
आठ कक्षादेखि दस कक्षाका विद्यार्थीले बढी मात्रामा बालविवाह गर्ने गरेका छन् । बालविवाह गर्दा पढाइ बिचमा छोडनुपर्ने, यौन तथा प्रजनन् स्वास्थ्यमा नकरात्मक असर पर्ने, बाहुविवाह र सम्बन्ध विच्छेदका घटनाहरु घट्ने, लैंगिक र यौन हिंसा बढ्नुका साथै बालबालिकाको समग्र विकासमा बाधा पुग्ने भएकोले बालबालिका र अभिभावकलाई सचेत गराउन गाउँपालिकाले कार्यक्रम गरिरहेको अध्यक्ष सारुको भनाइ छ ।
निस्दी गाउँपालिकामा गएको आर्थिक वर्ष २०८०/८१ मा ५३ जनाको बालविवाह गरेका छन् । अधिल्लो आर्थिक वर्ष २०७९÷२०८० मा २ सय ७६ जनाको बालविवाह भएको थियो । विगत दुई वर्षको तथ्यांक हेर्दा बालविवाह गर्नेको संख्यामा सुधार भएको देखिन्छ । नेपालको कानुनले १८ वर्ष मुनिको विवाहलाई बालबालिका र विवाहयोग्य उमेर २० वर्षपछि तोकेको छ । गौरीशंकर मावि मित्यालका प्रधानाध्यापक केश बहादुर सुनारीले गाउँपालिकाले सञ्चालन गरेको अभियान आफैमा उदाहरणीय र राम्रो भएको बताउनुभयो । उहााले निस्दी मगर जातिको बाहुल्यता भएको पालिका रहेकोले यस्तो खालको अभियान हरेक गाउँ र बस्तीमा सञ्चालन गर्न सके अझै प्रभावकारी हुने बताउनुभयो । पछौटेपन उन्मुलन समाज बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले बालविवाह अन्त्यका लागि गाउँपालिकाले हरेक निकायसँग समन्वय र सहकार्य गरी रणनीतिक योजना बनाउनु पर्ने बताउनुभयो । उहााले अहिले सञ्चालन गरिएको अभियान सकारात्मक रहेको र समुदायमा यसको असरका बारे बुझाउनु पर्ने बताउनुभयो ।
निस्दीलाई २०८३ मा बालमैत्री स्थानीय शासन लागु भएको गाउँपालिका घोषणा गर्ने तयारी रहेको छ । जसमा ५१ वटा सूचकमध्ये शून्य बालविवाह पनि पर्दछ । यसका लागि गाउँपालिकाले बालविवाह अन्त्यका लागि अहिलेसम्म बालविवाह सामुहिक रुपमा बहिस्कार गर्ने निर्णयदेखि बालविवाह न्यूनीकरणमा हाम्रो भूमिका विषयमा आधारभूत तथा मावि तहको वक्तृत्वकला प्रतियोगिता, अन्तर महिला समूह स्तरीय तीज गीत प्रतियोगिता, सडक नाटक प्रदर्शन, आधारभूत र माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीहरुसँग बालविवाह नगर्ने प्रतिबद्धता सहित हस्ताक्षर संकलन, २५ वटा विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको बालकल्याण अधिकृत कुश्माखर पाण्डेले बताउनुभयो । उहाँले बालविवाह विरुद्धको अभियानको प्रभावकारीताका लागि बालबालिकालाई नै अधिकतम प्रयोग गरेकोे जानकारी दिनुभयो । बालविवाह कानुनी र सामाजिक अपराध हो । त्यसैले बालविवाह शून्य बनाउनका लागि हामी सबै सचेत बन्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताउनुभयो । उहाँले जबसम्म बालविवाहका असर बारे आमनागरिकले जानकारी पाउर्दैनन् तबसम्म बालविवाह न्यूनीकरण नहुने भएकोले गाउँपालिकाले बालबालिकासँगै विभिन्न समूहलाई लक्षित गर्दै सचेतना अभियान सञ्चालन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ । यो समाचार करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित छ ।