स्वास्थ्य मन्त्री सारुद्धारा अक्षयकोष स्थापना

पाल्पा । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले आफ्नो स्वर्गीय पिताको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्सहान स्वरुप पुरस्कार उपलब्ध गराउने गरी नेपाल पत्रकार महासंघ पाल्पा शाखामा अक्षयकोषको स्थापना गर्नुभएको हो ।

नेपाल पत्रकार महासंघ पाल्पाको सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सारुले स्वर्गीय पिता जंगबहादुर सारुको स्मृतिमा २५ हजार ५ सय २५ रुपैयाँको अक्षयकोष घोषणा गर्नुभएको हो ।

अक्षयकोष रकमबाट प्राप्त ब्याजबाट पुरस्कार वितरण गर्ने गरी अक्षयकोष राखिएको मन्त्री सारुले जानकारी दिनुभयो । उहाँले अक्षयकोषबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाइ पुरस्कार प्रदान गर्ने गरी महासंघसंगको समन्वयमा कार्यविधि बनाएर अगाडि बढ्ने साथै अक्षयकोषमा रकम समेत वृद्धि गर्दै जाने जानकारी गराउनुभयो । जिल्लाको शिक्षा तथा सामाजिक क्षेत्रमा क्रियाशील सारु गएको प्रदेश सभा निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र १(२) मा एमालेको तर्फबाट उमेद्वार भै निर्वाचित हुनुभएको थियो । उहाँ हालसालै लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएको छ ।

पाल्पाली पत्रकारहरुको क्रियाशीलता बढाउनका साथै प्रोत्सहानका लागि मन्त्री सारुले स्थापना गर्नुभएको अक्षयकोषलाई व्यवस्थित रुपमा सञ्चालन गरिने नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले बताउनुभयो । उहाँले विषयगत रुपमा अक्षयकोष स्थापना गर्दा पत्रकारहरुले पनि क्षेत्रगत पत्रकारितामा ध्यान दिएर अगाडि बढ्ने वातावरण निर्माण हुने विश्वास व्यक्त गर्दै धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय