सडक स्तरोन्नतिमा बगनासकालीको ध्यान

पाल्पा । बगनासकाली गाउँपालिकाले सडक स्तरोन्नतिलाई प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ । आमनागरिकलाई आवतजावतमा सहता ल्याउने गरी नयाँ सडक विस्तार, भएका सडकको स्तरोन्नति (ग्राभेल) र कालोपत्र गर्ने कामलाई प्राथमिकतामा राखेर काम गर्दै आएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।

गाउँपालिकाले सडकको स्तरोन्नति गर्दा बढी सवारीसाधनको चाप हुने क्षेत्र, वडा कार्यालय, स्वास्थ्य चौकी पहुँच मार्गलाई पहिलो प्राथमिकता राखेर काम गरिएको उहाँले बताउनुभयो । अहिले बगनासकाली गाउँपालिकाल भित्रका ९ वडा मध्य ५ नं. वडाको मौलिभन्ज्याङ गरनडाँडा सडक खण्ड र ६ नं. वडाको गुँगादेखि दर्पुक जोडने सडक क्षेत्र बाहेक अन्य सबै वडामा बाह्रै महिला सवारीसाधन सञ्चालन हुने गरेको छ । वर्षातको समयमा हुनसक्ने सडक अवरोधलाई मध्यनजरगरी गाउँपालिकाले एक्साभेटर भाडामा लिएर बन्द भएका सडक तत्काल खुलाउने व्यवस्था मिलाइएको अध्यक्ष चिदीको भनाइ छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा मात्र बगनासकाली गाउँपालिकाले दुई हजार ८ सय ९७ मिटर सडक कालो पत्र गरेको छ । यस्तै सडक पहुँच नभएको स्थानलाई समेटेर चार हजार ७१ मिटर नयाँ कच्ची सडक विस्तार गर्ने काम गरेको गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरले जानकारी दिनुभयो ।

नागरिकलाई आवतजावतमा सहज बनाउन कच्ची सडक विस्तार भैसकेको पाँच हजार ५ सय ८१ मिटर सडक ग्राभेल गरी स्तरोन्नति गरिएको छ । नियमित यातायात सञ्चालन हुने, उकालो, घुम्तीहरुलाई व्यवस्थित गर्न तीन हजार ६ सय ९० मिटर सडक ढलान गरिएको छ । जसले गर्दा नियमित यात्रामा सहज पुगेको इन्जिनियर कुँवरको भनाइ छ ।

गाउँपालिकाले विस्तार गरेका र पहिलेदेखि नै रहेका सडकको आयु बढाउनका लागि आवश्यक नाली निर्माण कार्यलाई पनि तीव्रता दिइएको छ । गत आर्थिक वर्षमा मात्र सात हजार १ सय ५३ मिटर कच्ची नाली खनिएको छ । यसका साथै आवश्यकता अनुसार सात हजार १ सय १७ मिटर पक्की नाली निर्माण गरिएको इन्जनियर कुँवरले बताउनुभयो । सडक टिकाउ गराउन कच्ची वा कालो पत्रे सडकमा नाली अत्यन्त आवश्यक पर्ने भएकोले सोही अनुसार व्यवस्थापन गरिएको प्रवक्ता टीकाबहादुर थापाले जानकारी दिनुभयो ।

बगनासकाली गाउँपालिका भित्र मुख्य सडक ३१ किलोमिटर र सहायक सडकमार्ग एक सय ६७ किलोमिटर रहेको छ । चालु आर्थिक वर्षमा नयाँ सडक विस्तार अति आवश्यक गाँउमा मात्र योजना सञ्चालन गरिने गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । उहाँले यसका साथै भएका सडकहरुको दिगो पनाका लागि क्रमश नाली निर्माण, ग्राभेल, कालोपत्रगरी स्तरोन्नति गर्ने कामलाई तीव्रता दिइने उपाध्यक्ष पाठकको भनाइ छ । सडकको स्तरोन्नतिको काम गर्दा गुणस्तरलाई उच्च प्राथमिकतामा राखेर काम गरिएको छ । काम सुरु गर्दा, काम भैरहेको समय र सम्पन्न भएपछि पनि अनुगमन गर्ने गरिन्छ । गुणस्तरका विषयमा प्राविधिक, उपभोक्ता र जनप्रतिनिधिहरुको निरन्तरको निगरानीमा काम गरिएको छ । जसले गर्दा निर्माण भएका सडक संरचनाहरु गुणस्तरीय बन्ने गरेको उपाध्यक्ष पाठकले बताउनुभयो । यो समाचार करुवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित छ ।

सम्बन्धित खवर