समृद्धिका लागि निजी क्षेत्र बलियो हुनुपर्छ : कार्यकारी अध्यक्ष पोखरेल

पाल्पा । मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र बलियो हुनुपर्ने लुम्बिनी मेडिकल कलेजका कार्यकारी अध्यक्ष गोपाल पोखरेलले बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा कलेजले स्थापना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार वितरणपछि बोल्दै अध्यक्ष पोखरेलले जबसम्म निजी क्षेत्रका उद्योग व्यवसायहरु मजबुत हुर्दैनन् तवसम्म आर्थिक समृद्धि सम्भव नरहेको बताउनुभएको हो ।

उहाँले निजी क्षेत्रले उद्योग, व्यवसाय सञ्चालन गर्ने वातावरण तीन तहका सरकारले गर्नुपर्ने बताउर्दै सरकारले निजी क्षेत्रबाट चलेका उद्योग कलकारखानाको नियमनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अझैपनि निजी क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण फरक रहेको बताउर्दै अध्यक्ष पोखरेलले संघ, प्रदेश र स्थानीय सरकार निजी क्षेत्रको लगानी सुनिश्चित हुनेगरी व्यवसायीमैत्री बन्नुपर्ने बताउनुभयो ।

पहाडी जिल्ला पाल्पामा राजनीतिक दल तथा सरोकारवालाको सहयोगमा लुम्बिनी मेडिकल कलेज स्थापना भएको स्मरण गर्दै जिल्लाका स्वास्थ्य क्षेत्रसहित अन्य सामाजिक कार्यमा पनि कलेजले आवश्यकता र मागका आधारमा सेवा गर्दै आएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँले जिल्लामा पत्रकारिता क्षेत्रबाट समाज रुपान्तरणमा सहयोग गर्ने पत्रकारलाई थप उत्साह थप्न महासंघका संस्थापक अध्यक्ष मेघराज शर्मा र निर्वतमान अध्यक्ष राजेशकुमार अर्यालको पहलमा कलेजले अक्षयकोष पुरस्कार स्थापना गर्न सफल भएको जानकारी गराउनुभयो ।

यसका साथै बिमा बोर्डले कलेजलाई स्वास्थ्य बिमा मार्फत सेवा प्रवाह गरेको ९ महिनाको भूक्तानी नदिँदा समस्या भएको गुनासो समेत गर्नुभयो । अध्यक्ष पोखरेलले सरकारले पछिल्लो समय स्वास्थ्य बिमाको दावी भूक्तानी रकमको भूक्तानी पहिला सरकारी स्वास्थ्य संस्थालाई र पछि निजी क्षेत्रलाई उपलब्ध गराउने निर्णय गलत भएको बताउर्दै यस्ता निर्णयले निजी क्षेत्र निरुत्साहित हुने बताउनुभयो ।

सरकारले निजी क्षेत्रमा आवश्यक मात्रामा सहजीकरण गर्न सके उद्योग, कलकारखाना खुल्ने र रोजगारी सहित आर्थिक वृद्धिमा सहयोग पुग्ने भएकोले राज्यले निजी क्षेत्रमैत्री नीति लिएर अगाडि बढ्नुपर्ने अध्यक्ष पोखरेलको भनाइ छ ।

सम्बन्धित खवर