पाल्पा । स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी तानसेनमा सुरु भएको छ । दुई दिनसम्म चल्ने गाष्ठीमा गत आर्थिक वर्ष २०८०/८१ मा सम्पादन भएका स्वास्थ्य कार्यक्रमहरुको उपलब्धि, समस्या र चुनौतीका विषयमा प्रस्तुति राख्नुका साथै आगामी वर्षको कार्ययोजना समेत तयार गरिने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
गोष्ठीको उद्घाटन सत्रमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले शारीरिक स्वास्थ्यसंगै मानसिक र सामाजिक स्वास्थ्यलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले प्रविधिको उत्पादन र बढ्दो आधुनिकीकरणले मानसिक रोग बढ्दो भएकोले यस विषयमा विश्वका ठूला देशको पनि ध्यान केन्द्रित भएको समयमा हामी पनि गम्भीर हुनुपर्ने अवस्था रहेको बताउनुभयो । यसका साथै पछिल्लो समयमा नसर्ने रोग पनि तीव्र रुपमा बढ्दो रहेको मन्त्री सारुको भनाइ थियो । अहिले पनि हामी पूर्वाधार विकासमा करोडौं लगानी गर्ने तर शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार बजेट नहुँदा थप समस्या हुने गरेको उहाँले बताउनुभयो ।
प्रदेशभरी स्वास्थ्य क्षेत्रमा धेरै समस्याहरु रहेको जानकारी गराउर्दै मन्त्री सारुले जनशक्ति व्यवस्थापन, अस्पतालहरुको नेतृत्व, व्यवस्थापन र कर्मचारीको इमान्दारिता,नहुँदा नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्न कठिनाइ भएको बताउनुभयो । प्रदेश सरकारले निकट भविष्यमा केन्द्रिकृत स्वास्थ्य सेवाको अवधारणालाई आत्मसाथ गरेर काम गर्ने योजना बनाएको मन्त्री सारुले जानकारी गराउनुभयो । यसका साथै पाल्पाली भएको नाताले पाल्पा अस्पतालको पूर्वाधार निर्माणको विषय जिल्लाका सबै तहका जनप्रतिनिधिहरुसंगको समन्वय र सहकार्यमा छिटै टुंगो लगाउने गरी काम भैरहेको मन्त्री सारुले बताउनुभयो । उहाँले गोष्ठीमा वार्षिक रुपमा प्राप्त राम्रा सूचकको निरन्तरता र सुधार गर्नुपर्ने विषयमा कार्ययोजना निर्माण गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो ।
गोष्ठीमा लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले सरकारले नागरिकलाई सुनिश्चित बास, नियमित गास, शिक्षा र स्वास्थ्यमा सरकारको साथको ग्यारेण्टी गर्नुपर्नेमा जोड दिनुयभो । उहाँले कर्मकाण्डी समीक्षा आवश्यक नरहेको समेत बताउनुभयो । स्वास्थ्य जस्तो संवेदनशील विषयमा भएका उपलब्धिका विषयमा छलफल हुनुपर्नेमा वार्षिक रुपमा फरमेटमा हुने प्रस्तुतिले खासै अर्थ नराख्ने प्रदेश सभा सदस्य रानाको भनाइ थियो ।
गोष्ठीमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले मानव स्वास्थ्य सुधारका लागि गरिने हरेक गतिविधि नागरिकमैत्री हुनुपर्ने बताउनुभयो ।
स्वास्थ्य कार्यलय, दश स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा निजी, सामुदायिक र स्वासथ्य क्षेत्रमा काम गर्ने सामाजिक संस्थाहरुको प्रस्तुति रहने गोष्ठीको गोष्ठीको पहिलो दिन स्वास्थ्य कार्यलयसहित दश स्थानीय स्थानीय तहका स्वास्थ्य शाखाको प्रस्तुति सकिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो ।