रम्भादेवी साँस्कृतिक महोत्सव २०८१ को तयारी पूरा

पाल्पा । भदौं १० गते श्रीकृष्ण जन्माष्टमीका दिन हुने रम्भादेवी साँस्कृतिक महोत्सव २०८१ को तयारी पूरा भएको आयोजकले जनाएको छ । तानसेनमा पत्रकार सम्मेलन गरी पहिलो पटक हुन लागेको महोत्सवको तयारी पूरा भएको जानकारी गराइएको हो ।

सहयात्रा नेपाल काठमाडौंको आयोजना, रम्भादेवी पर्यटन विकास प्रतिष्ठानको सहआयोजना र रम्भा गाउँपालिका प्रवद्र्धनमा हुन लागेको महोत्सवमा स्थानीय मौलिक कला संस्कृतिसँगै चर्चित तथा लोकप्रिय राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने सहयात्रा नेपालका अध्यक्ष दुर्गा रायमाझीले जानकारी दिनुभयो । । उहाँले महोत्सवमा रामपुरको बालन, माथागढीको झारे, हुमिनको लाखे, सिनुषाको कौरा, रानीवासको सोरठी र तिवारी आमाको मौलिक तीज गीतसहित स्थानीय मौलिक कला संस्कृतिहरु प्रस्तुति रहने बताउनुभयो ।

हिन्दुहरुको आस्था र विश्वासको केन्द्र रम्भादेवी पछिल्लो समय ओझेलमा परेको र सरकारले घोषण गरेको १०० गन्तव्य मध्यको एक धार्मिक पर्यटकीय स्थल भएकोले प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सहयात्रा नेपालका महासचिव केशव आचार्यले बताउनुभयो । उहाँले महोत्सवबाट कला संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन, लोपोन्मुख संस्कृतिको पुनःस्थापित, जातीय विविधता र प्रचलित भेषभूषाको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने विश्वास लिएको बताउनुभयो ।

रम्भादेवीको मन्दिर स्थापना सम्बन्धी अनेकी किंवदन्ती छन् । जस मध्ये त्रेता युगमा भगवान् राम र सिता मुक्तिनाथको यात्रा गर्ने क्रममा त्यही नडगलमा आइपुग्दा सितालाई पानी प्यास लाग्यो, पानी खोज्दा कतै नभेटेपछि रामले वाणले हानेर पानी उत्पन्न गरेको हुनाले राम वाण पानी राम वाण पानी भन्दा भन्दै रम्भा पानी रहन गएको भनाइ छ । रम्भादेवी मन्दिर सिद्धार्थ राजमार्ग अन्तर्गतको आर्यभञ्ज्याङ बजारवाट झण्डै १५ कि.मी तांहु बजार नजिकै जङगलको बिचमा रहेको छ । जहाँ भाकल गरेमा मागेको वा चिताएको कुरा सबै पुग्छ भन्ने जनविश्वास रहि आएको छ ।

महोत्सवका लागि वरिष्ठ कलाकारहरु नारायण रायमाझी, इन्द्र जिसी, नारायण लेकाली, अमृत अधिकारी, नविन पौडेल, हुम गैहै, माधव भण्डारी, श्रीदेवी देवकोटा, बसन्ती थापा, कमल भट्टराई, रुपेश कार्की, सकुन्तला गैह्रेलगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरु पाल्पा आउने क्रम रहेको आयोजकले जनाएको छ । महोत्सवमा निशुल्क प्रवेश गरिएको बताउँर्दै महोत्सवमा उपस्थित भैदिनुहनु अनुरोध समेत गरेको छ

पत्रकार सम्मेलनमा पाल्पाली पत्रकारहरुले पाल्पामा जन्मिएर कर्मथलो जिल्ला बाहिर गराउनु भएका विशिष्ट व्यक्तित्वहरुले थाल्नुभएको प्रयास प्रशंसायोग्य रहेको बताएका थिए । उनीहरुले धार्मिक तथा पर्यटकीय क्षेत्र रम्भादवी क्षेत्रको धार्मिक तथा एतिहासिक महत्वलाई उजागर गर्न यो महोत्सव सफल हुने विस्वास व्यक्त गर्दै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सम्बन्धित खवर