तानसेनको सडकमा रोपाइँ जात्रा

तानसेन । पाल्पामा हरेक वर्ष गाईजात्राको भोलिपल्ट मनाइने मौलिक पर्व रोपाइँ जात्रा यस वर्ष पनि मनाइएको छ ।

विगतका वर्षमा धेरै संख्यामा निस्कने रोपाइँ जात्रा पछिल्लो समय भने लोप हुने अवस्थामा पुगेको छ । गत वर्ष तानसेनमा नदेखिएको रोपाइँ जात्रा यस वर्ष भने देख्न पाइएको हो । सांस्कृतिक पर्वका रुपमा पाल्पाका विभिन्न स्थानमा निकालिने रोपाइँ जात्रा पछिल्लो समय सीमित स्थानका नागरिकले मात्र निकाल्ने गरेका छन् ।

तानसेन बजारमा केही वर्ष अघिसम्म दर्जनबढी स्थानबाट रोपाइँ जात्रा निकालेर प्रदर्शनका लागि ल्याउने गरिन्थ्यो । तर विभिन्न कारणले गर्दा तानसेनमा पछिल्लो समय रोपाइँ जात्रा कम हुँर्दै गएको पत्रकार नेत्रप्रसाद गैरेले बताउनुभयो । वर्षेधान रोपेर सकेपछि खुसियालीमा मनाउने यो पर्व खासगरी किसानको पर्वका रुपमा लिइन्छ । गाईजात्राको भोलिपल्ट असारे भाका र पन्चेबाजाको तालमा गीत गाउदै नाच्दै, हलगोरु, बाउसे र रोपारीसहितका मानिसहरु सडकमा मौलिक रोपाइँको झल्को दिन गरी यो जात्रा मनाउने गरिन्छ ।

हल गरू नारेर असारे गीत सहित बजार परिक्रमा गर्ने प्रचलन रहेको रोपाइँजात्रा क्रमिक रुपमा लोप हुने अवस्थामा पुगेको छ । मानिसहरूले गरूको भेष बनाई हलो जुवाले गरू नारी पछाडी जोताहाले हलो जोतेपछि खेतालाहरूले धानको बीउ हातमा लिएर असारे गीत गाउँदै रोपाई जात्रा निकाल्ने गरिन्छ । गाउँको मुखियालाई छाता ओडाएर दायाँबायाँ प्रहरीका भेष भएका मानिसले सुरक्षा दिदै पन्चेबाजा बजाई बजारी परिक्रमा गरी रोपाई जात्रा गरिन्छ । बढ्दो महंगी र स्थानीय सरकारको असहयोगका कारण जात्रा निकाल्न आर्थिक समस्या हुँने भएकोले रोपाइँ जात्रा लोपहुने अवस्थामा पुगेको स्थानीयवासीको भनाइ छ ।

मनोरञ्जनका साधानमा भएको विकास, युवा शक्ति गाउँमा नबस्नु र आर्थिक अभावका कारण जात्रा निकाल्न समस्या भएको छ । सांस्कृतिक पर्वका रुपमा मनाइने जात्राहरुको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय सरकार उचित सहयोगको कार्यक्रम ल्याउनुपर्ने जात्राका जानकारहरुको भनाइ छ । तानसेनमा पहिले तानसेन ५ को धरमपानी, अर्चले, तानसेन ७ को लामिडाँडा, काजिपौवा, बरांङदीलगायतका स्थानबाट रोपाइँ जात्रा प्रर्दशनका लागि ल्याउने गरिन्थ्यो । यस वर्ष तानसेन ५ को धरमपानीबाट मात्र रोपाइँ जात्रा प्रर्दशनका लागि ल्याइएको थियो । जिल्लाका बगनासकालीको वरांङदी र खानीगाउँकाे संगमस्थल देउराली, नायर, रम्भाको हुमिन र रापुरमा समेत रोपाइजात्रा निकालिएको छ ।

सम्बन्धित खवर