पाल्पा । श्री ७ रणउजीरेश्वरी भगवतीको जात्रा (खटयात्रा) मा राष्ट्रपति रामचन्द्र पौडेल पाल्पा आउने निश्चित भएको छ ।
पाल्पा जिल्लाका संघीय सांसदद्धय ठाकुरप्रसाद गैरे र नारायणप्रसाद आचार्यको विशेष पहलमा राष्ट्रपति पौडेल भगवतीको खट्यात्रामा सरिक हुन पाल्पा आउन लाग्नुभएको हो । खट्यात्रामा राष्ट्रप्रमुखको उपस्थिति निश्चित भएपछि पाल्पालीहरु खुसी भएका छन् । समय समयमा राष्ट्रिय पर्वका रुपमा भगवती जात्रालाई मनाउनु पर्ने आवाज उठिरहेको समयमा जनप्रतिनिधिहरुले गरेको यो प्रयास प्रशंसायोग्य रहेको जिल्लावासीको भनाइ छ ।
सांसदद्धय गैरे र आचार्यले श्री ७ रणउजीरेश्वरी भगवती गुठी व्यवस्थापन समितिसंगको समन्यवमा भदौ २ गते शितल निवास पुगेर औपचारिक रुपमा राष्ट्रपति पौडेललाई भगवतीको खट्यात्रको निमन्त्रणा गर्नुभएको थियो । खट्यात्राको गरिमा बढाउन र उत्सबलाई राष्ट्रिय पर्वका रुपमा सूचीकरण गर्ने काममा सहजीकरणका लागि समेत उहाँहरुले अनुरोध गर्नुभएको थियो ।
यस वर्ष २ सय ५ औं खट्यात्रा निस्कर्दै छ । नेपाल–अंग्रेज युद्धको विजय उत्सवका रुपमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने भगवती जात्रा यस वर्ष भदौ ११ गते परेको छ । जितगढीमा भएको नेपाल अंग्रेज युद्ध (वि.स. १८७१ र १८७२) मा अंग्रेज सेनालाई हराएपछि विजयउत्सवका रूपमा सुरू भएको पाल्पाको भगगती रथयात्रा (खटयात्रा) दुई सय ५ वर्षदेखि नियमित हुदै आएको छ ।
पाल्पाको तानसेनमा हरेक वर्ष कृष्ण जन्माष्टमीमा जागाराम बसी भोलीपल्ट भाद्र कृष्ण नवमीका दिन आयोजना गरिने भगवती रथयात्राको नेपाल अंग्रेज युद्धसँग सम्वन्धित ऐतिहासिक तथा धार्मिक र साँस्कृतिक महत्व रहेको छ । भगवती माताको भाकल गरी अंग्रेज सेनासँग युद्ध लड्न गएका उजिर सिंह थापाको नेतृत्वको सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको थियो । थापाले महिषासुर मर्दिनी भगवतीको तीनतले मन्दिर वि.स. १८७२ मा निर्माण थालनी गरेका थिए । भगवती मूर्तिसँगै महिषासूर मर्दिनीको मूर्ति स्थापना भएपछि वि.स. १८७७ देखि विजयउत्सवका रूपमा हरेक वर्ष भगगतीको खट्यात्रा निकालन सुरू भएको पाइन्छ ।
राष्ट्रप्रमुखको उपस्थितिमा हुने भगवतीको खट्यात्रामा सहभागी हुन सबै आम पाल्पालीलाई सांसदद्धय गैर र आचार्यले सामाजिक सञ्जाल फेसबुक मार्फत अपील समेत गर्नुभएको छ ।