
पाल्पा । पूर्वखोला गाउँपालिकाले गएको आर्थिक वर्ष २०८०÷८१ मा नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर गरेका तीन काम प्रभावकारी भएको जनाएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाबाट सम्पादन भएका कार्यक्रम मध्ये आँखा शिविर, उच्चरत्तचाप र मद्युमेह परीक्षण र गर्भवती महिलाहरुको लागि भिडियो एक्सरे सेवा प्रभावकारी भएको गाउँपालिकाले जनाएको छ ।
विशेषगरी मोतियाविन्दुको समस्या देखिने ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई मध्यनजरगरी सञ्चालन गरिएको आँखा शिविरमा एक हजार १७ जनाले आँखाको जाँच गराएका थिए । जसमा ८२ जनामा मोतियाविन्दुको समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । शिविरमा आँखा परीक्षणका क्रममा भेटिएका मोतियाविन्दुको समस्या भएका बिरामीलाई गाउँपालिकाले स्थानीय स्तरमै शल्यक्रिया शिविर राखेर ६४ जानको शल्यक्रिया गरिदिएको प्रमुख ढकालको भनाइ छ ।
यस्तै गाउँपालिकाले नसर्ने रोगको बढ्दो जोखिम कम गर्न उच्च रक्तचाप र मधुमेह परीक्षण कार्य गरेको थियो । ४० वर्षदेखि ७० वर्ष उमेर समूहका नागरिकलाई लक्षित गरी सञ्चालन गरेको कार्यक्रममा दुई हजार ५ सय ८१ जनाले उच्चरक्तचाप र मधुमेहको परीक्षण गराएका थिए । जसमा ६ सय ८३ मा उच्चरक्तचाप र ६ सय ४३ जनामा मधुमेह रोग देखिएको स्वास्थ्य शाखा प्रमुख ढकालले जानकारी दिनुभयो । समयमा स्वास्थ्य परीक्षण नगर्दा हुनसक्ने जोखिम कम गर्न र समयमै रोग बारे जानकारी लिएर औषधि सेवन गर्ने वातावरण निर्माणका लागि कार्यक्रम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
यसगरी गएको एक वर्षमा गाउँपालिका भित्रका २ सय ९१ गर्भवती महिलालाई वडामै भिडियो एक्सरे सेवा लिएका छन् । गाउँपालिका भित्रका गर्भवती महिलाहरुको सम्भाव्य जोखिम पहिचान गरी समाधान गर्नका लागि वडामा भिडियो एक्सरे सेवा कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकामा रहेका ६ वडाका स्वास्थ्य संस्थामा महिनामा एक पटक गर्भवती महिला र बच्चाको अवस्थाको बारेमा स्वास्थ्य जाँच गर्ने गरिन्छ ।
गत वर्ष गाउँपालिका भित्र १ सय ५४ सुत्केरी भएका छन् । जसमा गाउँपालिका भित्रका १ सय ४६ र अन्य पालिकाको ८ जना रहेको स्वास्थ्य शाखाले जनाएको छ । स्थानीय स्वास्थ्य चौकीमा ५८ र अन्य मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा सुत्केरी भएका हुन ।
गर्भवती अवस्थामा कम्तिमा ३ पटक भिडियो एक्सरे गर्नुपर्छ । पहिलो पटक गर्भ रहेको थाहा भएपछि, दोस्रो पटक ५ महिना र तेस्रो पटक सुत्केरी हुने महिनामा भिडियो एक्सरे गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ । वडामा पुगेर गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षणसहित बच्चाको अवस्था बारे बुझ्ने कार्यक्रम प्रभावकारी रहेकोले निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । उहाँले यस कार्यक्रमले नागरिकको आर्थिक व्ययभार कम गर्नुका साथै मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन समेत सहयोग पुगेको बताउनुभयो । नागरिकको सहज स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्दै अगाडि बढेका कारण पूर्वखोला शून्य होमडेलीभरी र मातृ तथा नवजात शिशुको मृत्युदर शून्य रहेको गाउँपालिका रहेको अध्यक्ष थापाको भनाइ छ । याे समाचार करूवा अर्धसाप्ताहिकमा प्रकाशित छ ।