
पाल्पा । नेपाल विद्युत प्राधिकरण पाल्पा वितारण केन्द्र लुम्बिनी प्रदेशमै उत्कृष्ट कार्यालय बनेको छ । लुम्बिनी प्रादेशिक कार्यालय अन्तरगत चुहावट नियन्त्रण तथा आय संकलनमा पाल्पा वितरण केन्द्र उत्कृष्ट कार्यालय भएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा तोकिएको लक्ष्य हासिल गर्न सफल भएकोमा प्रदेशको उत्कृष्ट कार्यालय बन्न सफल भएकोमा प्राधिकरणको ३९ औं वार्षिकोत्सवका अवसरमा प्रशंसा पत्र समेत प्राप्त गरेको छ ।
प्रदेशमै उत्कृष्ट कार्यालय बनाउन सहयोग गर्ने प्रादेशिक कार्यालय तथा नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापन, जिल्ला स्थित सम्पूर्ण सरोकार निकायहरु र पाल्पा वितरण केन्द्रका सम्पूर्ण कर्मचारीहरुलाई वितरण केन्द्रका प्रमुख दिलिप मरासिनीले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा पनि लक्ष्य प्राप्तीको सफलताका लागि सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको बताउँर्दै आफूहरु पाल्पाको विद्युत व्यवस्थापनमा अहोरात्र खट्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
केन्द्र उत्कृष्ट कार्यालयका रुपमा सम्मानित भएपछि पाल्पाका जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । पाल्पा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्र चुहावट नियन्त्रण तथा आय संकलनमा लक्ष्य प्राप्ती गरी उत्कृष्ट कार्यालय भएकोमा काममा खट्ने सम्पूर्ण कर्मचारीहरुमा बधाई ज्ञापन गर्नुभएको छ ।