बगनासे ताल्चा प्रवद्र्धनमा बगनासकाली

पाल्पा । बगनासकाली गाउँपालिकाले बगनासे ताल्चा प्रवद्र्धनको प्रयास थालेको छ । ताल्चा प्रयोग गर्नेको संख्यामा वृद्धि गरेर प्रवद्र्धनको थालनी गर्न लागिएको हो । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने लोपोन्मुख अवस्थामा रहेको बगनासे ताल्चाको प्रवद्र्धनका लागि निशुल्क रुपमा ताल्चा वितरण गरेको छ ।

पहिलो चरणमा गाउँपालिकाले स्थानीय खुमबहादुर विश्वकर्मा र उनका छोरा शिव विश्वकर्माले उत्पादन गरेको ताल्चा खरिद गरेर गाउँपालिकासहित विभिन्न शाखा, कार्यपालिका सदस्य र पत्रकारहरुलाई वितरण गरेको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिका भित्रका सबै सरकारकारी कार्यालयमा अनिवार्य रुपमा बगनासे ताल्चाको प्रयोग गर्ने योजना अघि सारेको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो । उहाँले स्थानीय नागरिकमा भएको सीपको प्रयोबाट उत्पादन गर्न सकिने बलियो र भरपर्दो बगनासे ताल्चा क्रमिक रुपमा गाउँपालिकाका सबै घर, कार्यालयसंगै जिल्लाका विभिन्न कार्यालयसहित छिमेकी पालिकाहरुमा समेत प्रयोग गर्ने वातावरण तयार गरिने बताउनुभयो ।

बगनासे ताल्चाको प्रवद्र्धनका लागि गाउँपालिकाले विभिन्न सहयोग गर्दै आएको जनाएको छ । केहि वर्ष अगाडि युवाहरुलाई तालिम समेत उपलब्ध गराएको थियो । अधिकांश युवाहरुले तालिमा सिकेको सीपलाई निरन्तरता दिएनन् । यसका साथै उत्पादन लागत घटाउन आवश्यक प्रविधि ग्रेण्डर, वेल्डिङ मेसिन, घनलगायतका सामग्री उपलब्ध गराएको छ । उत्पादन भएको ताल्चा विक्री वितरणका लागि बजारीकरणमा सहजीकरण गर्ने समेत गाउँपालिकाले जनाएको छ ।

घरको ढोका, बाकस, दराजलगायतमा लगाइने साँचो बजारमा पाइने अन्य ताल्चाको तुलनामा बगनासे ताल्चा बलियो मानिन्छ । यो आधुनिक ताल्चा भन्दा केही ठूलो आकारको हुन्छ । यस क्षेत्रमा २०१० सालबाट ताल्चा उत्पादन हुने गरेको इतिहास भेटिएको कार्यपालिका सदस्य तेज प्रसाद रसाइलीले बताउनुभयो ।

बगनासे ताल्चो उत्पादन गर्दा महंगो पर्ने र अहिले बजारमा आएका चाइनीज ताल्चाको प्रयोग बढ्दा बजारमा प्रतिस्पर्धा गर्न नसक्दा लोप हुने अवस्थामा रहेको छ । यसका साथै समय अनुसार प्रविधिको प्रयोग नहुनु, नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँनु जस्ता कारणले ताल्चाको उत्पादन र प्रयोगको अवस्था संकटमा परेको अध्यक्ष चिदीको भनाइ छ ।

अहिले एउटा बगनासे ताल्चाको मूल्य आठ सय ५० रुपैयाँ पर्छ । गत आर्थिक वर्षको गाउँपालिकाले दुई लाख बजेट बाट दुई सय २२ ताल्चा उत्पादन गरिएको गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले जानकारी दिनुभयो । उहाँले साँचोको प्रवद्र्धन गर्न ताल्चा वितरण अभियान थालेको बताउनुभयो । फलाम, पाइन, स्वाग र पित्तलको मिश्रणबाट स्थानीय औजारको प्रयोग गरी बगनासे ताल्चा बनाइन्छ । स्थानीय आरनमा फलाम तताएर पिटेपछि निश्चित् आकारमा ताल्चा बनाइने स्थानीय खुमबहादुर विश्वकर्माले बताउनुभयो ।

सम्बन्धित खवर