“म बनाउछु मेरो रिब्दीकोट” अभियानको निरन्तरता : अध्यक्ष कार्की

पाल्पा । रिब्दीकोट गाउँपालिकाको “म बनाउछु मेरो रिब्दीकोट” अभियान चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभएको छ ।

स्वयसेवी अभियानका रुपमा गाउँपालिकाको पछिल्लो नेतृत्वले सुरु गरेको यो अभियान आर्थिक वर्ष २०८१/८२ मा पनि निरन्तरता हुनेगरी रिब्दीकोट १ नं. वडामा रहेको क्षत्रदेवालय क्षेत्रमा सरसफाई र पोखरी खन्ने काम गरी गरिएको हो । पछिल्लो समयमा पर्यटकको रोजाईमा रहेको सेल्फीडाँडा, छत्रदेवालय परीसरको सरसफाई गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्न गरी अभियानको काम सुरु गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

साना–साना काममा पनि सरकारको खोजी गर्ने नागरिकको बानी परिर्वतन गरी आमानागरिकमा स्वयमसेवी भावना जागृत गराउने उद्देश्यले अभियानको थालनी गरिएको गाउँपालिका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँले सामान्य कामका लागि योजना, बजेटको आश नगरी सकेको काम आफै गर्नुपर्छ भन्ने सोचाईको विकास गर्न अभियान सुरु भएको बताउनुभयो । अभियानमा जनप्रतिनिधि, कर्मचारीहरु र सर्वसाधारण नागरिकले क्रमिक रुपमा अपनत्व लिएर काम गर्न थालेको अध्यक्ष कार्कीको भनाइ छ ।

वडास्तरमा जनप्रतिनिधिहरुको अगुवाईमा सञ्चालन हुने अभियानमा समुदायको सहभागितामा धार्मिक तथा पर्यटकीय स्थलको सरसफाई, स्वास्थ्य चौकी परिसर सरसफाई, सडकको पहिरो पन्छाउने र खाडाखुल्डी पुर्ने काम गर्ने गरिएको अध्यक्ष कार्कीले बताउनुभयो ।

अभियानमा जनप्रतिनिधि, कर्मचारी, स्वाथ्यकर्मीको सहभागिता उत्साहजनक रहेको छ । आमनागरिकको पनि क्रमिक रुपमा सहभागिता बढ्दो रहेको गाउँपालिकाले जनाएको छ । प्रत्यक महिनाको एक दिन हुने गतिविधिले सामान्य काम अभियान बाटै सम्पादन हुने भएकोले सरकारको मुख ताक्ने अवस्थाको अन्त्य हुने अध्यक्ष कार्कीले विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाले अभियान अन्तरगत विगतका वर्षमा हार्थोकदेखि बतासेसम्मको मुख्य सडकमा सरसफाईसहित सडकका खाल्टाखुल्डीमा माटो गिट्टी हाल्ने, झाडी सफा गर्ने, स–साना पहिरो पन्छाउने, गाउँपालिकाको ५ नं. वडामा रहेको धार्मिक एवम पर्यटकीय स्थल जलेश्वर मन्दिर, भैरवनाथ मन्दिर परिसरलगायतका क्षेत्रमा सरसफाई कार्य गरेको छ । यसका साथै स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरुले नियमित सरसफाई कार्य गर्दै आएका छन् ।

सम्बन्धित खवर