पाल्पामा उद्योग दर्ता भन्दा खारेजी  धेरै

पाल्पा । जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा उद्योग व्यवसाय दर्ता गर्ने भन्दा खारेजी गर्नेको संख्या धेरै रहेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जनाएको छ ।

गत आर्थिक वर्षमा उत्पादनमूलक उद्योग ८ वटा दर्ता भएकोम १५ वटा लगतकट्टा भएको थियो । यस्तैगरी कृषि तथा वन्यजन्तु उद्योगमा ४४ वटा दर्ता भएकोमा ६२ वटा उद्योगको लगतकट्टा भएको तथ्याँकमा देखिन्छ । पर्यटन उद्योग ३० वटा दर्ता भएकोमा ५५ वटा र सेवा उद्योग अन्तरगत १५ दर्ता वटा उद्योग दर्ता भएकोमा ४५ वटाको लगतकट्टा भएको उद्यम विकास सहजकर्ता मनोज घिमिरे जानकारी दिनुभयो । उहाँले पाँच लाखसम्मको लगानीका उद्योग तथा व्यवसाय दर्ताको अधिकार स्थानीय तहलाई भएकाले पनि घरेलु तथा साना उद्योग कार्यालयमा बन्द गरेर स्थानीय तहमा दर्ता गर्नेगरी व्यसायीले लगतकट्टा गर्दा संख्यामा वृद्धि भएको बताउनुभयो ।

जिल्लामा गएको वर्ष २१ करोड ९८ लाख पूंजि लगानीमा ९७ वटा उद्योग दर्ता भएका छन् । जसमा ४३ वटा उद्योग महिलाहरुको नेतृत्वमा दर्ता भएको कार्यालयले जनाएको छ । जसबाट १५ लाख ६४ हजार ५ सय राजस्व संकलन गरेको उद्यम विकास सहजकर्ता घिमिरेले बताउनुभयो । आर्थिक वर्षको अन्तिममा पाल्पामा उत्पादनमूलक ६ सय ५, कृषि तथा वन्यजन्य १ हजार ३ सय ६८, पर्यटन ८ सय ११ र सेवा सम्बन्धी उद्योग १ हजार ३८ गरी कुल ३ हजार ड सय १७ उद्योग सञ्चालनमा रहेको उहाँको भनाइ छ ।

यस्तैगरी वाणिज्यतर्फ गत वर्ष १८ करोड १२ लाख पूंजि लगानीमा ९१ वटा फर्म दर्ता भएका छन् । यसैगरी १ सय ८६ व्यवसायको लगतकट्टा भएको थियो । वाणिज्यतर्फको सेवा प्रवाहबाट २१ लाख ३६ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । आर्थिक वर्षको अन्तसम्म दर्ता भएर सञ्चालनमा रहेका फर्महरुको संख्या ४ हजार ३ सय ३३ रहेको उद्यम विकास सहजकर्ता घिमिरेले जानकारी दिनुभयो । पाल्पामा आर्थिक वर्ष २०८०÷८१ को अन्तिमसम्ममा उद्योग ३ हजार ८ सय १७ र वाणिज्य ४ हजार ३ सय ३३ गरी कुल ८ हजार १ सय ५० फर्म रहेको घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा कृषि तथा वनजन्य, पर्यटन उद्योगहरु खारेजी बढी मात्रामा भएको घरेलु तथा साना उद्योग कार्यालय, पाल्पाका उद्योग अधिकृत श्यामकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले आर्थिक मन्दीका साथै व्यक्तिगत कारणले पनि उद्योग व्यवसाय खारेजी भएको हुनसक्ने बताउनुभयो । अहिले घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्दा साधारण नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने दलित, महिला र अपांग नागरिकलाई ७५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको उद्योग अधिकृत पौडेलले जानकारी दिनुभयो । यसका साथै लामो समय उद्योग नविकण नभएका उद्योगीहरुलाई ध्यानमा राखेर २०८१ चैत्र मसान्तसम्म नविकरण गर्दा जरिवानामा ९५ प्रतिशत छुट दिने व्यवस्था रहेकोले मौकाको फाइदा उठाउन उद्योग अधिकृत पौडेलले आग्रह गर्नुभयो । याे समाचार करूवा अर्धसाप्ताहिक पत्रिमा प्रकाशित छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय