
पाल्पा । तानसेन नगरपालिकाका पूर्व नगर प्रमुख अशोककुमार शाहीको परिवारले आफ्नी स्वर्गीय सुपुत्री अनुजा शाहीको नाममा दश लाख रकमको स्मृति कोष स्थापना गर्नुभएको छ । अनुजाका असल कर्मलाई चिरस्थायी गराउने मनसायले कोषको स्थापना गरिएको शाही परिवारले जनाएको छ ।
स्वर्गीय छोरी अनुजाको जन्मदिन पारेर कोषको घोषणा गर्नुभएका पूर्व नगर प्रुमख शाहीले सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार छोरीहरुलाई शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको बताउनुभयो । उहाँले कोषमा सञ्चालन कार्यविधि तयार गरेर गरिने समेत जानकारी दिनुभयो ।
कोषको घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सन्तानको मायालाई जीवन्त राख्न शाही प्िवारले गरेको असल कर्म प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले कोषलाई व्यवस्थित गर्दे धेरैभन्दा धेरै असल छोरीहरुलाई अध्ययन गर्ने वातावरण निर्माण गर्न आग्रह समेत गर्नुभयो ।
पूर्व सांसद यादवबहादुर रायमाझीले छोरी अनुजाप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै अभिभावकलाई सन्तान गुमाउनुको पीडा सबैभन्दा ठूलो हुने बताउनुभयो । उहाँले कोषबाट हुने सहयोगले अनुजा जस्ता धेरै छोरीहरुलाई सहयोग पुग्ने विश्वस व्यक्त समेत गर्नुभयो ।
प्रध्यापक डा.टंक पन्तले जन्म संयोग भएपनि मृत्यु सत्य रहेको बताउनुभयो । शाही परिवारले कोष स्थापनबाट थालेको सुकर्मको सुरुवातले छोरी समुदायमा जीवन्त रहने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले कोषलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले छोरीको स्मृतिमा सामाजिक कार्य गर्ने सोच लिएकोमा शाही परिवारलाई धन्यवाद ज्ञापन गर्दै यसवाट अरुले पनि सिक्न्ुपर्नेमा जोड दिनुभयो ।
२०५० भदौ २२ गते पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर २ मा पिता अशोक कुमार शाही र माता सुमीत्रा शाहीकी कान्छी सुपुत्रीको रुपमा जन्मिएकी अनुजा शाहीको अमेरिकाको भर्जिनियाको इनोभा अस्पतालमा उपचारका कममा २०८० फागुन १८ गते निधन भएको थियो ।