पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तानसेन नगर समिति पाल्पाले तानसेन खानेपानी उपभोक्ता समितिलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
विगतदेखि नै तानसेन खानेपानी उपभोक्ता समितिलाई पार्टीले समिति गठनको पहल र राम्रा कामहरूको समर्थन गर्दै आएकोले थप सुधारका लागि ज्ञापन पत्र बुझाएको हो ।
सह– इन्चार्ज केशव पौडेल सचिव नवराज वस्यालद्धारा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा नेपाल सरकारले विद्युत महसुलमा दिइएको अनुदानको आधारमा खानेपानी महसुलमा कटौती गर्न, खानेपानी महसुल दर निर्धारणमा प्रगतिशील र वैज्ञानिक महसुल पद्धति लागु गर्न, मासिक ५ हजार लिटर भन्दा कम पानी खपत गर्ने विपन्न परिवारलाई निशुल्क खानेपानी उपलब्ध गराउन आग्रह गरिएको छ ।
यस्तैगरी खानेपानी वितरणको समय तालिका सम्बन्धित उपभोक्तालाई १ दिन पूर्व नै जानकारी गराउन, खानेपानी वितरणमा एकरुपता कायम गर्न, कर्मचारीहरुको तलब समय सापेक्ष रुपमा वृद्धि गर्न, लामो समयदेखि कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रम लागु गर्न र उपभोक्ता समितिले गरेका कामहरू र खर्च विवरणका सम्बन्धमा वार्षिक रुपमा समीक्षा तथा सार्वजनिक सुनवाइको कार्यक्रम गर्न माग गरिएको छ ।