
पाल्पा । यातायात व्यवस्था सेवा कर्यालय पाल्पाबाट साना सवारीसाधनको सवारी चालक अनुमती पत्र (लाइसेन्स वितरण) सेवा विस्तार गरेसंगै राजस्वमा वृद्धि हुनुका साथै सेवाग्राहीलाई सहज भएको कार्यालय प्रमुख लक्ष्मण घिमिरेले बताउनुभएको छ । २०८० साल असार ४ गतेदेखि तानसेनबाटै साना सवारीसाधनको चालक अनुमती पत्र पाउने व्यवस्था भएपछि नागरिकलाई राहत मिलेको हो । कार्यालयले तानसेन ७ बर्तुङबाट सेवा प्रवाह गर्दै आएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य पहाडी जिल्ला पाल्पामा सेवा विस्तार हुँदा पाल्पा जिल्लासहित गुल्मी, अर्घाखाँची, रुपन्देही तथा गण्डकी प्रदेशको स्याङ्जा जिल्लाका नागरिकलाई प्रत्यक्ष फाइदा मिलेको सेवाग्राहीले बताएका छन् । विगतमा सवारी चालक अनुमतिपत्र बनाउनका लागि बुटवल र पोखरा जानुपर्ने बाध्यतामा रहेको सेवाग्राहीले दुई पांग्रे सवारीको पाल्पाबाटै लिखित र प्रयोगात्मक परीक्षा दिन पाएका छन् । जस्ले गर्दा समय र लागत दुबैको बचत भएको स्याङ्जाका बिशाल थापाले बताउनुभयो ।
यस्तै स्याङ्जा चापाकोटकी करिस्मा अधिकारीले पनि पालपाबाटै ट्रायल दिने सुविधा हुँदा पोखरा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । अन्य सेन्टरमा जाँदा टाढाँ त छदैछ, त्यसमाथि समयमा पालो नआउने समस्या थियो पाल्पाबाट एक साताभित्रै प्रयोगात्मक परीक्षा दिन पाउँदा निकै सहज भएको अधिकारीले बताउनुभयो । कार्यालयले हाल काजिपौवामा लिखित र बासँटारीमा प्रयोगात्मक परीक्षा संचालन गर्दै आएको छ । कार्यालयले सेवाग्राहीलाई सहजताका लागि लिखित पास भएको एक सातामै प्रयोगात्मक परीक्षा लिने व्यवस्था मिलाएको जनाएको छ । पाल्पासंगै छिमेकी जिल्लाहरुबाट धेरै सेवाग्राहीहरु आउने हुँदा उनीहरुको सेवामा लागत र समय घटाउने गरी काम गर्दै आएको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो ।
कार्यालयले सेवालाई प्रभावकारी र व्यवस्थित गर्नका लागि एकै सातामा लिखित र प्रयोगात्मक रुपमा परीक्षा लिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । पाल्पास्थित सेवा कार्यालयबाट हालसम्म दुई पाग्रे सवारीको मात्रै लिखित र प्रयोगात्मक परीक्षा लिँदै आएकोमा आउने वर्षमा पूर्वाधार निर्माण गरी चार पांग्रे सवारीको पनि प्रयोगात्मक परीक्षा लिनका लागि आवश्यक प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०÷८१ मा कार्यालयले सेवा प्रवाहबाट १८ करोड ७४ लाख ९६ हजार ४ सय २५ रुपैँया राजस्व संकलन गरेको कार्यालय प्रमुख घिमिरले जानकारी दिनुभयो । जसमा सबैभन्दा धेरै सवारीसाधनको अनुमती पत्र लिनका लागि ट्रायल परीक्षामा सहभागी हुनेको संख्या रहेका छ । सात हजार ३ सय ९७ जनाले ट्रायल दिएका छन् । यस्तै सबैभन्दा धेरै राजस्व संकलन सवारीसाधनको करबाट प्राप्त भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा सवारीसाधन करबाट १५ करोड ४७ लाख ३४ हजार ७ सय ३५ राजस्व संकलन भएको कार्यालय प्रमुख घिमिरले बताउनुभयो । कार्यालयले लिखित र प्रयोगात्क परीक्षा संचालन तथा सवारीसाधान नविकरण, जाँचपास र रुट नविकरणबाट राजस्व संकलनमा वृद्धि भएको जनाएको छ । गत आर्थिक वर्ष ०७९।८० मा जम्मा १४ करोड ३४ लाखबढी राजस्व र ४७ लाख ५४ लाख बराबरको आयकरबाट राजस्व उठाएको कार्यालयले गत आर्थिक वर्षमा सेवाग्राही बढेसंगै राजस्व संकलनमा वृद्धि भएको कार्यालयले जनाएको छ । याे समाचार करूवा अर्धसाप्ताहिक पत्रिकामा प्रकाशित छ ।