पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको वार्षिक समीक्षा तथा योजना तर्जुमा बैठक सम्पन्न भएको छ । बैठकमा आर्थिक वर्ष २०८०/८१ मा सम्पादन भएका गतिविधि र उपलब्धिका साथै नयाँ आर्थिक वर्ष २०८१÷८२ को योजना तथा कार्यक्रम तयार गरिएको छ ।
बैठकका प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुरप्रसाद गैरेले प्रेस चौतारी नेपाल पाल्पा शाखाले संगठन र पत्रकारितालाई संस्थागत गराउने सवालमा गरेका गतिविधि प्रशंसायोग्य रहेको बताउनुभयो । भएका कामको उपलब्धि, सम्भावना र चुनौतीहरुका विषयमा वार्षिक रुपमा समीक्षा गरेर अगाडि बढ्दा कामको प्रभावकारीता बढ्ने उहाँको भनाइ थियो । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका गैरेले चौतारी सम्बद्ध पत्रकारहरुले पेशागत मर्यादालाई ध्यानमा राखेर पार्टीको शुदृढीकरण र विकासमा सघाउनुपर्ने बताउनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष ओबहादुर घर्तीमगरले पार्टीका सबै संगठनर र चौतारी बिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले पछिल्लो समय चौतारीले गर्दै गएको गतिविधि सकारात्मक रहेकोले चौतारी र चौतारीमा आवद्ध पत्रकारहरु सहभागी मिडियाको सवलीकरणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पार्टी र स्थानीय सरकार बलियो बनाउनका लागि जनप्रतिनिधि र पत्रकारहरुबीच असल सहकार्य आवश्यक रहेको अध्यक्ष घर्तीमगरको भनाइ थियो ।
बैठकमा निर्वतमान अध्यक्ष तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य धनेन्द्रराज घिमिरेले पाल्पाको पत्रकारिताको विकासमा प्रेस चोतारी नेपाल पाल्पा शाखाको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पत्रकारितामार्फत नागरिकले भोग्नु परेको समस्यालाई उजार गर्नेगरी खोज पत्रकारितालाई ध्यान दिनुपर्नेमा जोड दिनुयभो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले प्रेस चौतारी नेपालसंग जोडिएका पत्रकारहरुले समाजमा भएका विकृती विसंगती संगै पार्टीभित्रका विकृतीहरु समेत उजार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनजीविकाका पक्षमा सत्य तथ्यमा आधारित खोज पत्रकारिता गर्नुपर्ने समेत बताउनुभयो ।
नेकपा एमाले पाल्पा जिल्ला कमिटी सचिव रामजी पोखरेल प्रेस चौतारी पाल्पाले गरेको गतिविधि सकारात्मक रहेको बताउर्दै यहि गतिमा सबै जनवर्गीय संगठनहरु क्रियाशील हुँदा एमालले पाल्पालाई कुनै शक्तिले जित्न नसक्ने बताउनुभयो । उहाँले पाल्पाली मिडियाको दिगो सञ्चालनका लागि सबै स्थानीय तहहरुले योजना बनाएर कार्यान्वयनमा जानुपर्नेमा समेत जोड दिनुभयो ।
बैठकमा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, रम्भा गाउँपालिकामा अध्यक्ष विष्णप्रसाद भण्डारी , माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठलगायतले स्थानीय सरकारको तर्फबाट मिडियाको सवलिकरणका लागि काम भैरहेको बताउनुभयो । उहाँहरुले मिडिया र पत्रकारहरुको माग अनुसार सीमित स्रोत र साधनका कारण पूरा गर्न नसकिएको भएपनि सक्दो गरिएको बताउनुभयो ।
स्थानीय तहका पार्टी नेतृत्व, चौतारीका सदस्यहरुको सहभागिता रहेको बैठक प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज कमलराज तिमिल्सेनाको स्वागत, सचिव नारायण न्यौपानेको सञ्चालन तथा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको थियो ।