
तानसेन । पाल्पाको जल्पामा सामान्य परिवारमा २०३६ साल कात्तिक ५ गते जन्मनुभएका खेम बहादुर सारु सानै देखि बहुमुखी स्वभावको हुनुहुन्थ्यो । बाल्यकाल देखिनै अध्ययनमा गहिरो रुचि राख्ने सारु सानैदेखि जिज्ञासु स्वभावको गर्नुहुन्थ्यो ।
माता खगिसरा सारु र पिता जंगबहादुर सारुका ४ छोरा र १ छोरी मध्ये जेष्ठ सुपुत्रका रुपमा सारुको जन्म भएको थियो । अरुको अन्याय अत्याचार नसहने निडर स्वभाव भएका सारुको बाल्यकाल सामान्य किसिमले नै बित्यो । खेल क्षेत्रमा बढी रुची राख्ने सारु साथीभाइ सँग खेलमा नै रमाउने गर्नुहुन्थ्यो ।
जन्मस्थलमा रहेको शम्भु माध्यमिक विद्यालय जल्पाबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका सारुले माध्यमिक तहको शिक्षा भने जिल्लाको जनता माध्यमिक विद्यालयबाट एसएलसी पास गर्नुभएको हो । सारुले त्रिभूवन बहुमुखी क्याम्पस पाल्पामा विएसम्म र तानसेन बहुमुखी क्याम्पसमा अंग्रेजी र राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययन गर्नुभएको छ ।
४५ वर्षीय सारुले करिब २१ वर्ष राजनीतिक अभियानसंगै बेथल बोर्डिङ्ग स्कुल तानसेनको प्रिन्सिपलको भूमिका निभाउनुभएको छ । सारुले बाल्यकालमा बाल क्लबको नेतृत्वमा जल्पालाई खुला दिशा मुक्त क्षेत्र बनाउन खाल्डे चर्पी अभियानको नेतृत्व गर्नुभयो । युवा क्लब र लायन्स क्लबबाट समाजसेवाको सक्रिय भूमिका निभाइरहनु भएका सारु राजनैतिक क्षेत्रमा भने २०४८ सालमा अनेरास्ववियुको सदस्य बनेर सुरु गर्नुभएको हो । क्याम्पस अध्ययनकै क्रममा उहाँलाई राजनीति गर्ने हुटहुटी चल्यो । जनता गरिब छन् । पढ्नका लागि नजिकै विद्यालय छैनन् । आफ्नो गाउँ ठाउँको विकास गर्न पनि राजनीति गर्न आवश्यक रहेको उहाँको बुझाइ रहयो । अनि विद्यार्र्थी राजनीति थाल्नुभयो । श्रमजीवी वर्ग, शोषित, पीडित, गरिब र निम्न वर्गको हित रक्षा गर्ने पार्टी कम्युनिस्ट पार्र्टी हो । त्यसको मूल धार नेकपा (एमाले) हो भन्ने बुझ्नुभएका सारुले एमालेको भातृ संगठन अनेरास्ववियुमा आवद्ध भएर राजनीतिक गतिविधिमा जोडिनुभयो ।
खेमबहादुर सारु २०५३ सालदेखि २०५५ सालसम्म त्रिभुवन बहुमुखी क्याम्पस इकाई कमिटी सदस्य बनेर काम गर्नुभयो । राष्ट्रको सामाजिक, आर्थिक विकासका वाधकको रुपमा रहेका कुरीति, विभेद, विसंगति, अन्याय, ढिलासुस्ती, वैदेशिक हस्तक्षेपको बिरोधमा उत्रिनुभयो । महंगी, कालाबजारी आदिको न्यूनीकरण गर्ने आन्दोलनमा समाहितहुनुभयो ।
समृद्ध नेपाल, सुखी नेपाली नारा साकार पार्न शिक्षित, योग्य युवाहरुबाट अग्रता लिनुपर्छ भन्ने बिचारले राजनीतिमा थप सक्रिय बन्दै जानुभयो । दाजु जय बहादुर सारु र मित्र रेवत रानाबाट प्रेरित हुनुभएका सारु २०७८ सालदेखि नेकपा (एमाले) जिल्ला कमिटी सदस्य हुनुहुन्छ । नेकपा एमालेको राजनीतिकसहित जिल्लाको शैक्षिक सुधार अभियानमा क्रियाशील सारु गएको मंसिर ४, २०७९ को निर्वाचनमा पाल्पा १ (२) बाट नेकपा (एमाले)कोतर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यको टिकट प्राप्त गर्नुभयो ।
शिक्षित र बौद्धिक व्यक्तिलाई उम्मेदवारका रुपमा पाउँदा प्रदेश निर्वाचन क्षेत्र पाल्पाको रम्भा, पूर्वखोला र माथागढीका मतदाताले सारुलाई भारी मतले बिजयी बनाएपछि जनताको सेवामा समर्पित हुँर्दै आउनुभएका सारु अहिले लुम्बिन प्रदेश सरकारको स्वास्थ्य मन्त्री बन्नुभएको छ । जनताको आवश्यकता र माग र समस्याका विषयमा प्रदेश सभामा जोडदार कुरा उठान गर्दै आउनुभएका सारुले स्वास्थ्य क्षेत्रमा नागरिकले अनुभूति गर्नेगरी काम गर्नुपर्ने जिम्मेबारी छ ।