
पाल्पा । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मन्त्री खेम बहादुर सारुले पाउनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार गतेको सिफारिस अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम साउन ९ गते गठित मन्त्रिपरिषद्को कार्यविभाजन गर्दा मन्त्री सारुलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी परेको हो ।
मन्त्री सारुले शुक्रबार नै स्वास्थ्य मन्त्रीको पदभार ग्रहण गर्नुभएको छ । उहाँले महिला, बालबालिका तथा किशोरीहरुको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम संचालन कार्यविधि–२०८१ को तयारीका लागि मस्यौदा समिति गठन गरी यथासिघ्र मस्यौदा पेश गर्ने सम्बन्धि निर्णयमा हस्ताक्षर गरी पदभार ग्रहण गर्नुभएको हो ।
मन्त्री सारुले महिला, बालबालिका तथा किशोरीहरुको स्वास्थ्य क्षेत्रमा काम गर्ने बताउनुभएको छ । उहाँले महिलाहरुको स्वास्थ्य राम्रो भए समग्र समाजकै स्वास्थ्य राम्रो हुने बताउदै महिलाहरु आमा, दिदीबहिनी, श्रीमती, हजुरआमाको रुपमा परिवारको महत्वपूर्ण हिस्सा भएको भन्दै उहाँहरुको स्वास्थ्य र पोषणको क्षेत्रलाई प्रदेश सरकारले नतिजामुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसका साथै मन्त्री सारुले स्वास्थ्य क्षेत्रका सम्पूर्ण प्रशासनिक कार्यालयहरुमा सुशासन कायम गरी जनताले महसुस गर्न सक्ने हिसाबले कार्य सम्पादन गर्न सम्बन्धित कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ ।
पाल्पा निर्वाचन क्षेत्र नं. १ (२) बाट एमालेका तर्फबाट लुम्बिनी प्रदेश सभामा उमेद्वार भएर निर्वाचित खेमबहादुर सारुले बिना विभागीय मन्त्रीको पद तथा गोपनियताको शपथ लिनुभएको थियो । पाल्पाको जल्पामा सामान्य परिवारमा २०३६ साल कात्तिक ५ गते जन्मनुभएका सारु सानै देखि बहुमुखी स्वभावको हुनुहुन्थ्यो । बाल्यकाल देखिनै अध्ययनमा गहिरो रुचि भएको र जिज्ञासु स्वभावका सारु माता खगिसरा सारु र पिता जंगबहादुर सारुका ४ छोरा र १ छोरी मध्ये जेष्ठ सुपुत्र हुनुहुन्छ ।