कर्मचारी छनोट प्रकृया रोकेर प्रवक्ताको छोरालाई नियुक्ति

पाल्पा । तानसेन नगरपालिकाले सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धि सूचना प्रकासन गरी छनोट प्रकृया रोकेर प्रवक्ताको छोरालाई नियुक्त गरेको पाइएको छ । नगरपालिकाले २०८० साल भाद्र २८ गते विज्ञापन नं. ३ मा सेवा करारमा कर्मचारी आवश्यकता सम्बन्धि सूचनाको ३ नं.मा सहायक कम्प्युटर अपरेटर सहायक चौथो पदका लागि ३ जनाको दरखास्त माग गरेको थियो । दरखास्त माग गरेको करिब ११ महिना पुग्नलाग्दा समेत छनोट प्रकृया अगाडि बढाएको छैन ।

माग गरेको सूचना अनुसार एक सय ७० जना आवेदकले जागिरका लागि पाँच सय रुपैयाँ तिरेर दरखास्त फाराम भरेका थिए । प्राप्त आवेदनको छनोट प्रकृया अगाडि बढाएर आवश्यक जनशक्ति भर्ना गर्नुपर्नेमा ध्यान नदिएर टिप्पणीका आधारमा दैनिक ज्यालादारीमा काम गर्नेगरी प्रवक्ता यादवसिंह कार्कीको छोरा विजय कार्कीलाई २०८० फागुन १ गतेदेखि लागु हुनेगरी सहायक कम्प्युटर अपरेटर सहायकस्तर चौथो पदमा नियुक्त गरेको पाइएको हो ।

क्षमता भएका र स्थानीय तहमा जागिर गरेर अनुभव बटुल्ने योजनाका साथ दरखास्त दिएकाहरु अहिले अलपत्र परेका छन् । उनीहरुले फाराम भरेको ११ महिना सम्म परीक्षा सञ्चालन नहुँदा अन्य क्षेत्रमा जाने र काम गर्ने अवसर समेत गुमेको बताएका छन् ।

स्थानीय सरकारले कर्मचारी छनोट प्रकृयाका लागि कार्यविधि बनाएर काम गर्नुपर्ने हो । विज्ञापन प्रकाशन भएको कति समयमा परीक्षा लिने भन्ने विषय कार्यविधिमा समावेस गर्नुपर्ने भएपनि तानसेन नगरपालिकाले तयार गरेको करार जनशक्ति व्यवस्थापन कार्यविधि, २०७५ मा समयसीमा तोकिएको छैन । त्यसैले पनि आवेदन माग गरेपनि समयमा छनोट प्रकृया पूरा गर्नुपर्ने कानुनी वाध्यता नरहेको र बिचमा आफ्ना मान्छेलाई अवसर दिने गरेको नगरवासीको भनाइ छ ।

नगरपालिकाले यहि सूचनामा माग गरिएको विभिन्न १७ पदका कर्मचारीको छनोट गर्दा आफ्ना मान्छे नपरेको भन्दै नेता र जनप्रतिनिधिबीच विवाद भएको हल्ला बजारमा आएको थियो । यो ३ जना कर्मचारीका विषयमा पनि नगरपालिकाका जनप्रतिनिधिहरुको भागबण्डा नमिल्दा परीक्षा सञ्चालन नभएको हुनसक्ने सरोकारवालाहरुको अनुमान छ । सहायक कम्प्यूटर अपरेटर पदको पदपूर्तिमा पनि आफ्ना मान्छे राख्ने निश्चित नहुँदा नगरपालिकाले परीक्षा सञ्चालन गर्न नसकेको उनीहरुको भनाइ छ ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली सरुवा भएपछि पदपूर्ति समितिको जिम्मेवारी पाउनुभएका योजना शाखा प्रमुख दुर्गाबहादुर थापाले विज्ञापन अनुसार कार्यालय सहयोगीलगायत अन्य पदमा जनशक्ति व्यवस्थापन भएको र बाँकी कम्प्यूटर अपरेटरको छनोट कार्य बाँकी रहेको बताउनुभयो ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले कर्मचारी भर्ना गर्ने, प्रक्रिया अगाडी बढाउने, चेक काट्ने, हाजिरी हेर्ने जस्ता काम कर्मचारीको भएको बताउनुभयो । “मलाई यस विषयमा खासै थाहा भएन, कर्मचारीसंग बुझ्नुस् न ।” श्रेष्ठले भन्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले आफू यस विषयमा अनविज्ञ भएको बताउनुभयो । “भर्खर भर्खर आएको हुनाले यस विषयमा खासै थाहा भएन, मैले पनि बुझ्नुपर्छ ।” नागिलाले बताउनुभयो । यो समाचार करुवा पत्रिकामा प्रकाशित छ ।

सम्बन्धित खवर