पाल्पा । जिल्लामा विभिन्न मितिमा ठगी गर्दै हिडेका ४ जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ ।
नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी ललाई फकाई गरी ठगी गर्ने पाल्पा जिल्ला तिनाउ गाउँपालिका ३ नं. वडा झुम्सा बस्ने चुरामणी गाहामगर, रुपन्देही जिल्ला सैनामैना नगरपालिका ८ नंं बस्ने गुन्ज बहादुर मगर, जिल्ला रुपन्देही जिल्ला कञ्जन गाउँपालिका १ नं. वडा बस्ने लक्ष्मण कुमाल र रुपन्देही जिल्ला ओमसतिया गाउँपालिका ५ स्थायी वतन भई हाल बुटवल उपमहानगरपालिका लक्ष्मीनगरमा डेरा गरी बस्ने गिरी बहादुर थापा भुजेललाई प्रहरीले नियन्त्रमा लिएको हो ।
उनीहरुसंगबाट प्रहरीले पहेलों रंगको चारपाटे धातु १ थान, निवेदन साथ पेश गरेको पहेलो रंगको चारपाटे धातु ३ थान र सुन जस्तो देखिने वस्तु बरामत गरिएको प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो ।
नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी ललाई फकाई गरी गएको भदौ २६ गते तानसेन नगरपालिका ४ होलाङदी मनकामना होटेल नजिकैबाट तिनाउ गाउँपालिका ५ नं. वडा भोक्तछाप बस्ने वर्ष ५७ की बमिसरा रानाको १ तोला सुनको कुन्डल रिङ, चैत्र १८ गते तानसेन.पा. ६ लहरेपिपलमा बगनासकाली गाउँपालिका ९ नंं वडा चापपानी बस्ने वर्ष ६३ की डोल कुमारी थापाले लगाएको १ तोला १२ लालको सुनको रिङ कुण्डल, जेष्ठ २७ गते तानसेन नगरपालिका ३ नं. वडा गौरीशंकर होटेल देखि होलाङदी जाने बाटो प्रगतीनगर टोलबाट रिब्दीकोट गाउँपालिका ७ नं. वडामा बस्ने वर्ष ५७ की भुमी कुमारी गाहाले लगाएको १ तोलाको सुनको रिङ कुण्डल झिकी लगेको भनि प्रह्ररीमा निवेदन परेकाे थियाे ।
निवेदनका आधारमा हुलिया तथा सिसीटिभी फुटेजका हेरी अनुसन्धान गर्दा सोमाबार तानसेन नगरपालिका ६ नं. वडाको टुंडिखेल नजिक बाटोमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा उनीहरु प्रहरीको नियन्त्रमा परेका हुन । नियन्त्रणमा लिएर सोधपुछ तथा शरीर खानतलासी गर्दा चुरामणी गाहामगरले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा निवेदकहरुले पेश गरेको सुनको डल्ला भनि झुक्याएको बस्तुसंग मिल्दो खालको पहेलों रंगको चारपाटे धातु फेला परेकोले बरामद गरी निजहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।