ट्राफिक नियम पालना गर्नेको संख्यामा वृद्धि  :  प्रमुख आचार्य

पाल्पा । गएको एक वर्षमा पाल्पामा ट्राफिक नियम पालना गर्नेको संख्यामा वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख कृष्णप्रसाद आचार्यले बताउनुभएको छ । उहाँले विगत तीन आर्थिक वर्षको तुलनात्मक अवस्थालाई हेर्दा आर्थिक वर्ष २०८०/८१ मा ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा कमी आएको बताउनुभएको हो ।

ट्राफिके नियम उल्लंघन गर्ने सवारीसाधनमा कमी आउँदा राजस्व संकलन समेत कम भएको छ । आर्थिक वर्ष २०८०/८१ मा जम्मा १६ हजार ८ सय ६७ सवारी साधन ट्राफिक नियम पालना नगरेकोले कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख आचार्यले जानकारी दिनुभयो । उहाँले कारबाहीमा परेका सवारीसाधनबाट एक करोड १२ लाख ६१ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको बताउनुभयो ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी जीप, कार, भ्यानले ट्राफिक नियम उल्लंघन गरेका छन् । जसको संख्या चार हजार ६ सय ४३ रहेको छ । यस्तै मोटरसाईकल चार हजार ५ सय ८२, ट्रक टिपर चार हजार ३ सय २५, बस मिनीबस तीन हजार २ सय ७३, टेक्टर दु्ई हजार ४८ एक वर्षको समयमा कारबाहीमा परेको प्रमुख आचार्यले बताउनुभयो ।

यस्तैगरी आर्थिक वर्ष २०७९/०८० मा १९ हजार ८५ सवारी साधनले ट्राफिक नियम उल्लघंन गरे वापत कारबाहीमा परेका थिए । कारबाहीमा परेर साना ठूला सवारीसाधनबाट एक करोड ३३ लाख ७३ हजार राजस्व संकलन भएको थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा पर्ने सवारी साधनको संख्या १८ हजार ४ सय ६६ रहेको थियो । जसबाट ट्राफिक प्रहरी कार्यालय पाल्पाले एक करोड १३ लाख ७१ हजार ५ सय राजस्व संकलन गरेको थियो । यसरी हेर्दा अघिल्लो वर्षमा भन्दा जिल्लामा ट्राफिक नियम पालना गर्ने सवारीसाधनको संख्यामा वृद्धि हुँर्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ट्राफिक नियम उल्लंघन हुँदा बढी राजस्व संकलन हुने भएपनि त्यो राम्रो पक्ष नभएको प्रमुख आचर्यको भनाइ छ । त्यसैले पनि राजस्व कम संकलन हुँदा ट्राफिक नियकको पालनाको अवस्था सुधार भएको देखिने प्रमुख आचार्यले बताउनुभयो । जिल्लामा ट्राफिक नियमको पूर्ण पालना गराउन आफूहरु खटिएको बताउदै यो काममा प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुँने भएकोले सबैपक्षको सहयोग आवश्यक रहेको प्रमुख आचार्यले बताउनुभयो । उहाँले सवारी दुर्घटना न्यूनीकरण र नियमको पालना गराउनका लागि ट्राफिक चेकजाँचलाई कडाई गर्नुका साथै विभिन्न सचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको ट्राफिक प्रहरीको भनाइ छ ।

पाल्पामा गत आर्थिक वर्ष २०८०÷८१ मा ४३ वटा सवारी दुर्घटना भएका छन् । जसबाट ३६ जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षमा ४७ वटा दुर्घटना भएका थिए । जसमा ३९ जनाको मृत्यु भएको थियो । समग्र तथ्याँकलाई हेर्दा जिल्लामा ट्राफिक नियमको पालना भएका कारण राजस्व संकलन कम हुनुका साथै दुर्घटना न्यूनीकरण समेत भएको ट्राफिक प्रहरी प्रमुख आचार्यले दावी गर्नुभयो ।

सम्बन्धित खवर