
पाल्पा । लुम्बिनी प्रदेश सरकारको बिनाविभागीय मन्त्री खेमबहादुर सारु आफ्नै जिल्लामा शुभेच्छुकबाट बधाई र शुभकामना ग्रहण गर्नु भएकाे छ ।
लामो समयपछि पाल्पाली जनप्रतिनिधि मन्त्री भएपछि खुसी भएका पाल्पाली नागरिक, शुभेच्छुक, मन्त्री आबद्ध राजनीतिक पार्टी र विभिन्न संघसंस्थाले मन्त्री सारुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । अधिकांस नागकिरले सामाजिक संजाल फेसबुकबाट र केहिले औपचारिक कार्यक्रम गरेर बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
पाल्पा निर्वाचन क्षेत्र नं. १ (२) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित खेमबहादुर सारुले बुधबार बिना विभागीय मन्त्रीको पद तथा गोपनियताको शपथ लिनुभएको थियो । मन्त्रालयको जिम्मेबारी पाउन केहि दिन लाग्ने भएकाले पाल्पामै रहनुभएका मन्त्री सारुलाई नेकपा एमाले पाल्पाले कार्यालयमै औपाचरिक रुपमा बधाई तथा शुभकामना प्रदान गरेको छ ।
एमाले पाल्पाका सचिव रामजी पाखरेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य टीकाबहादुर थापा, उपसचिवद्धय दीपक विश्वकर्मा र मीना जिसी, निर्वतमान अध्यक्ष धनेन्द्रराज घिमिरेसहित, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, निस्दी गाउँपालिका उपाध्यक्ष तीरणकुमारी श्रेष्ठ, युवा संघका पदाधिकारीहरुले खादा तथा फूलमाला लगाइदिएर बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्री सारुले पार्टी र जनताले विश्वास गरेर निर्वाचित भएपछि मन्त्री बन्ने अवसर प्राप्त गरेकोले जनमैत्री भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लामा भएको भौतिक पूर्वाधारको विकासका योजनाको अनुगमनलाई विशेष ध्यानमा राखेर काम गर्ने बताउनुभयो । यसका साथै मन्त्री सारुले पूर्वाधार विकासले मात्र जनताको समस्या समाधान नगर्ने भएकोले आर्थिक र सामाजिक विकासमा जोड दिएर अघि बढ्ने समेत बताउनुभयो ।
बधाई तथा शुभकामना कार्यक्रममा एमाले पाल्पाका निर्वतमान अध्यक्ष घिमिरेले पाल्पा जिल्लाले मन्त्री पाएकोमा खुसी व्यक्त गर्दै विकास र समृद्धिमा देखिनेगरी काम गर्न आग्रह गर्नुभयो । जसका लागि पार्टीले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
यसका साथै जिल्ला समन्वय समिति पाल्पाले पनि सम्मान गरेको छ । जनताको माग, आवश्यकता र समस्यालाई नजिबाट बुझेका र समाधानका विकल्पमा दखल राख्ने शिक्षित र बौद्धिक व्यतित्व सारुलाई मन्त्रीका रुपमा पाल्पालीले पाउनु गौरवको कुरा भएको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा रचनात्मक काम गरेर नागरिकलाई क्षेत्रगत विकासको अनुभूति हुनेगरी काम गर्न शुभकामना समेत व्यक्त गर्नुभयो ।
यसका साथै बेथल बोर्डिङ स्कुल तानसेनले पनि मन्त्री सारुलाई बधाई तथा शुभकामना व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष माधव नेपाल, प्रिन्सीपल रुपचन्द्र थापालगायत सञ्चालन समितिले बधाई तथा शुभकामना व्यक्त गरेका हुन ।
नेकपा एमालेको तर्फबाट २०७९ मंसिर ४ गतेको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित सारुले पहिलो पटक मन्त्री हुने अवसर पाउनुभएको हो ।
पाल्पाको जल्पामा सामान्य परिवारमा २०३६ साल कात्तिक ५ गते जन्मनुभएका सारु सानै देखि बहुमुखी स्वभावको हुनुहुन्थ्यो । बाल्यकाल देखिनै अध्ययनमा गहिरो रुचि भएको र जिज्ञासु स्वभावका सारु माता खगिसरा सारु र पिता जंगबहादुर सारुका ४ छोरा र १ छोरी मध्ये जेष्ठ सुपुत्र हुनुहुन्छ ।