पाल्पा । सडक मर्मतका लागि रातीमा बन्द भएको सिद्धार्थ राजमार्ग सुचारु हुनेभएको छ ।
सिद्धार्थ राजमार्गको हिउँद खोलामा सडक भासिएपछि सम्भावित क्षति न्यूनीकरण गर्नका लागि बुधबारदेखि रातीमा बन्द गरिएको सडक विहीबार बेलुकाबाट सुचारु हुनेभएको हो । अब वेलुका ७ बजे देखि विहान ६ बजे सम्म बन्द रहेने सिद्धार्थ राजमार्गमा आवतजावत सुचारु हुने भएको हो ।
सडक डिभिजन कार्यालयबाट भएको मर्मत एवं हाल भासिने क्रम रोकिएको हुँदा यही अवस्था रहेमा आज विहीबारदेखि रातीको समयमा पनि एक तर्फि सडक सुचारु हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गरी जानकारी दिएको छ । सडक जोखिमपूर्ण रहेको र सडक समय समयमा अवरुद्ध हुन सक्ने हुँदा सडक डिभिजन कार्यालय पाल्पाबाट नियमितरुपमा प्रवाह हुने सूचना हेरेर, सडकको अवस्था बुझेर र सूचनामा सार्वजनिक गरिएको फोन नंम्वरहरुमा सम्पर्क गरेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले अनुरोध गर्नुभएको छ ।
विगत केहि दिन देखिको बर्षातका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका वडा नं. ३ मा पर्ने हिउँदे खोला सडक खण्डमा बाटो भासिएकाले त्यस क्षेत्रमा मर्मतको लागि बाटो बन्द गरिएको थियो ।
दुई वर्षअघि पनि यो स्थानमा सडकमा पहिरो खस्ने र भासिने हुँदा सवारी आवागमनमा समस्या देखा परेको थियो । विज्ञ टोलीको स्थलगत अनुगमन पश्चात सडक डिभिजन कार्यालय पाल्पाले तल्लो भागको खोला छेउमा रिटेनिङ वाल लगाएको थियो । सडकको माथिल्लो भागमा सडक चौडा र टेवा पर्खाल उठाएको थियो । अहिले दुवै वाल र पर्खाल ठिक भएपनि बीच भागबाट सडक भासिएको छ ।