तानसेन । पाल्पा निर्वाचन क्षेत्र नं. १ (२) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित खेमबहादुर सारुले बिना विभागीय मन्त्रीको पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
नेकपा एमालेको तर्फबाट २०७९ मंसिर ४ गतेको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित सारुले पहिलो पटक मन्त्री हुने अवसर पाउनुभएको हो । जनताको माग, आवश्यकता र समस्यालाई जोडतोडका साथ सभामा उठान गर्ने सारु शिक्षिक र बौद्धिक व्यतित्वका रुपमा चिनिनुहुन्छ ।
पाल्पाको जल्पामा सामान्य परिवारमा २०३६ साल कात्तिक ५ गते जन्मनुभएका सारु सानै देखि बहुमुखी स्वभावको हुनुहुन्थ्यो । बाल्यकाल देखिनै अध्ययनमा गहिरो रुचि भएको र जिज्ञासु स्वभावका सारु माता खगिसरा सारु र पिता जंगबहादुर सारुका ४ छोरा र १ छोरी मध्ये जेष्ठ सुपुत्र हुनुहुन्छ ।
बुधबार लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित उहाँले शपथ लिनुभएको हो । राजनीतिक समिकरणमा पछिल्लो समय आएको परिर्वतनपछि लुम्बिनी प्रदेशमा एमाले लुम्बिनी संसदीय दलका उपनेता आचार्यको नेतृत्वमा नयाँ मन्त्री परिषद् गठन भएको हो । जसमा एमालेका ४ र कांग्रेसका ४ गरी ८ जना मन्त्री बनेका छन् । सबै मन्त्रीले बिनाविभागीय मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले उहाँहरुलाई शपथ गराउनुभएको हो । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने सहमती रहेको छ । सहमती अनुसार एमालेबाट पाल्पाका खेमबहादुर सारु, रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी र दाङका सीता शर्मा मन्त्री बन्नुभएको छ । यसैगरी नेपाली कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका छन् । एक जनाको टुंगो लागेको छैन । मन्त्री भएकाहरुमा गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री रहनुभएको छ ।