लुमेकमा आमा सुरक्षा कार्यक्रम बन्द

पाल्पा । लुम्विनी मेडिकल कलेजमा सञ्चालन हुदै आएको आमा सुरक्षा कार्यक्रम बन्द भएको छ । नेपाल सरकारले तानसेन नगरपालिकामा बजेट पठाएर नगरपालिकाले कलेजसंग सम्झौता गरी लागु हुँदै आएको आमा सुरक्षा कार्यक्रम बजेट अभावको कारण देखाउदै नगरपालिकाले सेवा बन्द गर्न कलेजलाई पत्रचार गरेर हो ।

नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालले प्रसूति सेवा उपलब्ध गराएवापत सरकारका तर्फबाट भूक्तानी दिनुपर्ने रकम कम पठाएको र आवश्यक रकमको सुनिश्चितता नहुँदा सम्म कार्यक्रम बन्द गर्न तानसेन नगरपालिकाबाट पत्र आएपछि असार मसान्तदेखि कलेजले आमा सुरक्षा कार्यक्रम बन्द गरेको कम्पनी सचिव कृष्ण पराजुलीले जानकारी दिनुभयो ।

तानसेन नगरपालिकाले प्राप्त बजेटबाट सेवा प्रवाहका लागि सम्झौता गरेर थप रकम माग गर्नुपर्नेमा प्रक्रिया नै अगाडि नबढाएर कार्यक्रम बन्द गर्दा सुत्केरी महिला र शिशु सेवाबाट बञ्चित भएका छन् । चालु आर्थिक वर्षका लागि कार्यक्रम गर्न ३८ लाख ८० हजार मात्र प्राप्त भएको तानसेन नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले बताउनुभयो । उहाँले आर्थिक वर्ष ०७९÷८० मा एक हजार २ सय ८७ र ०८०÷८१ मा एक हजार ४ सय ४२ जनाले कार्यक्रम अन्तर्गत सुत्केरी सेवा लिएकोले चालु आर्थिक वर्षका लागि करिव २ करोड आवश्यक पर्नेमा कम रकम प्राप्त भएकोले सम्झौता गर्न नसकिएको बताउनुभयो । तत्कालका लागि कार्यक्रम बन्द गरिएको भएपनि मातृ तथा नवशिशु कार्यक्रम संचालनका लागि नपुग रकम व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्ने काम भएको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

नेपाल सरकारले कार्यक्रमका लागि गत आर्थिक वर्षमा पठाएको रकम र सेवाग्राहीको संख्यामा भएको वृद्धिका कारण कलेजलाई केहि रकम तिर्न बाँकी नै रहेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । उहाँले अधिल्लो आर्थिक वर्षको सम्झौता अनुसारको केहि रकम भूक्तानी दिन नसकिएको र यस वर्षका कार्यक्रम शीर्षकमा न्यून बजेट प्राप्त भएकोले कसरी अगाडि बढ्ने भन्ने विषयमा आवश्यक छलफल गरी छिटै टुंगो लगाइने बताउनुभयो ।

कार्यक्रम बन्द भएपछि विपन्न समुदायका सुत्केरी तथा शिशु सहुलियत सेवाबाट बञ्चित भएका छन् । लुम्विनी मेडिकल कलेज पाल्पामा जिल्लाका दश स्थानीय तहसहित गुल्मी, स्याङ्जा, बाग्लुङ, अर्घाखाँची, पर्वतलगायतका जिल्लाका गर्भवती महिलाले सुत्केरी सेवा लिर्दै आएका छन् । कार्यक्रम अनुसार प्रसूति सेवाका लागि सुत्केरीले प्रोटोकल अनुसार स्वास्थ्य संस्थामा गर्भ जाँच गराएको आधारमा यातायात खर्च वापत दुई हजार ८ सय पाउछन् । नवजात शिशुको निशुल्क उपचार प्याकेजदेखि अन्य सेवा उपलब्ध गराए वापत अस्पतालले सामान्य प्रसूति सेवामा २ हजार ५ सय , जटिलतायुक्त प्रसूति सेवामा ४ हजार र शल्यक्रिया विधिद्धार प्रसूति गराएमा १० हजार रुपैया प्राप्त गर्ने प्रावधान रहेको छ ।

सेवा बन्द गर्न गरिएको तानसेन नगरपालिकाको पत्रका विषयमा जिल्लाका दुई वटै निर्वाचन क्षेत्रका संघीय सांसदद्धय नारायणप्रसाद आचार्य र ठाकुरप्रसाद गैरेले ध्यानाकर्षण भएको जनाउनुभएको थियो । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँहरुले ध्यानाकर्षण गराउनुभएको हो । उहाँहरुले प्राप्त बजेटबाट तत्कालका लागि सेवा नियमित गर्ने र नपुग र भूक्तानी गर्नुपर्ने बाँकी रकमका विषयमा प्रक्रियागत रुपमा अगाडि बढ्नुपर्ने बताउनुभएको छ । जसका लागि आफूहरुले आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । यो समाचार करुवा अधएसाप्ताहि पत्रिकामा प्रकाशित छ ।

सम्बन्धित खवर