एमाले नेतृत्व र जनप्रतिनिधिबीच अन्तरक्रिया

पाल्पा । नेकपा एमाले जिल्ला कमिटी पाल्पाको नेतृत्व र जनप्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले पाल्पाको विकासमा नेकपा एमालेको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले जनताको आवश्यकता र समय अनुसारको विकासका लागि अझै खट्नुपर्ने भएकोले जनप्रतिनिधिहरुले जनताको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रको विकास र समृद्धि नै एमालेको एजेण्डा भएकोले जनप्रतिनिधिहरुले योजना तथा बजेट तयार गर्दा यसतर्फ ध्यान दिन र जनताको माग र आधारभूत आवश्यकता पहिचान गरेर मात्र गर्नुपर्ने अध्यक्ष कंडेलले बताउनुभयो ।

पाल्पा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले पाल्पाली जनताको आवश्यकता एमालेका जनप्रतिनिधिहरुले मात्र सम्बोधन गर्न सक्ने बताउनुभयो । उहाँले विगतका समयमा पनि विकासको अनुभूति एमालेकै जनप्रतिनिधिहरुले गराएको बताउर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । यस वर्ष पाल्पामा पार्टी, नेता कार्यकर्ताहरुको ठूलो मिहनेत र प्रयासबाट तीनवटै तहका सरकारबाट आवश्यक योजनाका लागि बजेट विनियोजन गर्न सफल भएको बताउर्दै आफ्नो क्षेत्रमा परेका योजनाहरु समयमै सम्पन्न गर्न सबै जिम्मेबार भएर क्रियाशील हुनुपर्नेमा प्रतिनिधिसभा सदस्य आचार्यले जोड दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा एमाले पाल्पाका पूर्व जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरे, लुम्बिनी प्रदेश सभा सदस्यत्रय राजुप्रसाद श्रेष्ठ, खेमबहादुर सारु र इन्द्रा गहतराज, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, जिल्लाका दश वटै स्थानीय तहका पार्टी अध्यक्ष, नेकपा एमालेबाट जिल्लाका ६ स्थानीय तहमा निर्वाचित अध्यक्ष, उपाध्यक्षहरुले हालसम्म गरेको कार्यसम्पादन विवरण, अवसर, र समस्याका विषयमा जानकारी गराउनुभएको थियो । उहाँहरुले आफूहरु जनता आवश्यकता, पार्टीको लक्ष्य र सिद्धान्तलाई आत्मसाथ गरेर विकास निर्माण र सेवामा निरन्तर लागि परेको जानकारी गराउनुभएको उपसचिव मिना जिसीले जानकारी दिनुभयो ।

कार्यक्रम नेकपा एमाले पाल्पाका उपाध्यक्षा विमल काफ्लेको स्वागत, उपसचिव दीपक विश्वकर्माको सञ्चालन तथा अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा चलेको हो । लामो समयदेखि पाल्पामा पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित भएको एमालेले आफ्नो सरकार भएको स्थानीय तहका साथै निर्वाचित जनप्रतिनिधिहरुलाई जनमैत्री भएर काम गर्न र कामको प्रभावकारीता बढाउन आवश्यक सहजीकरणका लागि अन्त्रक्रिया कार्यक्रम गरिएको अध्यक्ष घर्तीमगरले बताउनुभयो । उहाँले आवश्यकता अनुसार अन्तरक्रिया, छलफललाई निरन्तरता दिने उहाँको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय