पाल्पा पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

तानसेन । पाल्पालाई पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । जिल्लाका ८१ वडा र दश स्थानीय तह पूर्णखोप दिगोपनाको सुनिश्चित भएपछि मंगलबार जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलराम घर्तीमगरले जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाललाई प्रमाण पत्र हस्तान्तरण गरी जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्नुभएको हो । सभामुख घर्तीमगरले पूर्णखोप सुनिश्चितता गर्ने कार्यमा खट्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर अभियानमा लाग्न आग्रह गर्नुभयो । उहाँले भाषणमा स्वास्थ्य र शिक्षा प्राथमिकतामा पर्ने गरेको भएपनि बजेट व्यवस्थापनमा अझैपनि भौतिक पूर्वाधारमै जोडबल हुने गरेकोले समस्या भएको बताउनुभयो । सभामुख घर्तीमगरले सडक र भवन भन्दा पहिला नागरिकको स्वास्थ्य र शिक्षा जस्तो संवेदनशील विषयमा राज्य गम्भीर भएर प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रदेश सभाका सदस्य वीरबहादुर रानाले घोषणा गर्ने काम होडबाजीका रुपमा नभै उपब्धिमूलक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लामा धेरै विषयमा घोषणा कार्यक्रम मात्र हुने गरेको तर सेवाको प्रभावकारीता कमजोर भैरहेकोले सुधारका क्षेत्रमा इमान्दार भएर काम गर्न आग्रह गर्नुभयो ।

अर्का प्रदेश सभा सदस्य खेमबहादुर सारुले स्वास्थ्य मानवको नैसर्गिक अधिकार भएको बताउर्दै पूर्णखोप सुनिश्चितताको निरन्तरतामा योगदान गर्ने सबै पक्षलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा अझैपनि आवश्यकता अनुसार काम हुन नसकेको अवस्थामा ग्रामीणवस्तीहरुमा धेरै किसिमका स्वास्थ्य समस्या रहेकोले यस विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले खोप कार्यक्रमले शिशु र बाल मृत्युदर घटाउन, रुग्णता दर घटाउन र अपांगता हुनबाट जोगाउन सफल भएको बताउनुभयो । उहाँले खोपको प्रभावकारिता धेरै रहेको तर पनि स्थानीय तहमा अझैपनि खोप भण्डारन कक्ष र दक्ष जनशक्तिको अभाव हुँदा अभियानमा समस्या भोग्नुपरेको बताउनुभयो ।

कार्यक्रममा जिल्लाको समग्र प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्रकुमार गिरीले जन्मेदेखि १५ महिनाका ३ हजार ३ सय ८ बच्चा र १६ महिनादेखि ५८ महिनाका १० हजार ५ सय ६० बच्चा मध्य सर्वेक्षणमा खोपको पूरामात्रा लगाउन छुटेका ६ जनासहितले खोप लगाएको सुनिश्चितता गरी पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो । उहाँले पाल्पामा खोप केन्द्रको पहुँच नभएका बच्चाहरुको संख्या शून्य रहेको तर सचेतना र अज्ञानताका कारण पूरा खोपको मात्रा लगाउन छुटेका बच्चा भेटिएकोले चिन्ताको विषय भएको बताउनुभयो । प्रमुख डा. गिरीले विगत तीन आर्थिक वर्षको नियमित खोप कार्यक्रमको प्रगति अवस्था तुलना गर्दा पूर्ण खोपको सूचक लक्ष्य अनुसार प्रगति कम देखिएको जानकारी गराउनुभयो । उहाँले सुरुमा खोप लगाए पनि उमेर बढ्दै जाँदा खोपको पूर्णमात्रा बारे जानकारीको अभाव र खोप सम्बन्धी परामर्शको कमीले चुनौती थपेको बताउनुभयो ।

पाल्पालाई पहिलो पटक २०७० साल फागुन १३ गते पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको थियो । यसको निरन्तरताका लागि सहयोग गर्ने जिल्लाका दशवटै पालिका, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य कार्यलय पाल्पाका कर्मचारीहरुलाई प्रमाण पत्र, मायोको चिनोले सम्मान गरिएको थियो । सोही अवसरमा सहभागीले पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा तथा दिगोपनाको लागि प्रतिबद्धतापत्रमा सामूहिक हस्ताक्षर समेत गरिएको घोषणा कार्यक्रम जिल्ला खोप समन्वय समितिका संयोजक खनालको अध्यक्षतामा चलेको हो ।

सम्बन्धित खवर